बागमती प्रदेश पर्यटकीय सम्भावना उच्च भएको प्रदेश हो । यहाँ थुप्रै पर्यटकीय सम्भावनायुक्त क्षेत्रहरु छन् । अधिकांश विदेशी पर्यटक बागमती प्रदेशमा आउनैपर्ने बाध्यता पनि छ । चलनचल्तीको अन्तर्राष्ट्रिय विमानस्थल यहीँ भएकाले बाह्य पर्यटक बागमती प्रदेशमा आउनैपर्छ । अर्कोतिर, संघीय राजधानी काठमाडौं उपत्यका आसपासका पर्यटकीय आकर्षणले स्वदेशी र विदेशी सबै पर्यटकको रोजाई बन्न सक्छन् । यसैकारण बागमती प्रदेश सरकारले पनि सुरुवातदेखि नै प्रदेशमा पर्यटकीय पूर्वाधार विकासका लागि थुप्रै योजना अघि सारेको थियो । प्रदेश सरकारले अघि सारेका कतिपय योजना पर्यटन विकासका लागि महत्वपूर्ण भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा निरर्थक बनेको छ । प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको थोरै योजना सफल बन्दा अधिकांश पर्यटकीय पूर्वाधारण निर्माणका योजनाहरु कागजमै सिमित बनेका छन् ।
विगतका वर्षहरुमा बजेटसहित कार्यान्वयनमा ल्याइएका कयौं योजना तथा कार्यक्रम अलपत्र परिरहेकै अवस्थामा प्रदेश सरकारले बिना तयारी पर्यटन क्षेत्रको विकासका लागि अर्को कार्यक्रम घोषणा गरेको छ । सामान्य तयारीसमेत नगरी बागमती प्रदेश सरकारले भ्रमण वर्ष २०२४ घोषणा गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले निकै अघि भ्रमण वर्ष मनाउने निर्णय गरेको भए पनि आवश्यक तयारी नै नगरी भ्रमण वर्ष सुरुवातको घोषणा गरिएको छ । सोमबार प्रदेशको संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रदेश भ्रमण वर्ष सुरु भएको घोषणा गरेका हुन् । ठोस लक्ष्य, योजना, कार्यक्रमबिना नै भ्रमण वर्ष घोषणा गरिएकाले यसको सफल कार्यान्वयन हुने सम्भावना न्यून रहेको छ । बागमती प्रदेश भ्रमण वर्ष २०२४ का लागि प्रदेश सरकारले मात्र एक करोड रुपैयाँ बजेट स्वीकृत गरेकाले पनि भ्रमण वर्षको प्रभावकारिताको अनुमान गर्न सकिन्छ ।
प्रदेश सरकारले भ्रमण वर्षको औपचारिक घोषणाबाहेक हालसम्म अन्य कुनै काम गरेको छ । भ्रमण वर्ष मनाउनुको उद्देश्य बढीभन्दा बढी पर्यटकलाई भ्रमण गराउनु हो । यसका लागि भ्रमण वर्षको बारेमा पर्याप्त प्रचारप्रसार हुनुपर्छ । यसैगरी पर्यटकलाई आकर्षित गर्ने खालका विभिन्न गतिविधि सञ्चालन हुनुपर्छ । पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा पनि उत्तिकै लगानी हुनुपर्छ । तर, बिना तयारी, बिना लगानी, बिना कार्यक्रम प्रदेश भ्रमण वर्ष घोषणमात्र गरेर अलिअलि भएको बजेट मास्नेबाहेक खासै उपलब्धी हुने सम्भावना रहँदैन । भ्रमण वर्ष सुरु भइसक्दा र औपचारिक घोषणासमेत भइसक्दा प्रचारप्रसारका लागि ब्रोसर, टिसर्ट छाप्ने कामै नहुनुले प्रदेश सरकारको भ्रमण वर्षको उपलब्धी अनुमान गर्न सकिन्छ । छिट्टै औपचारिक कार्यक्रम गरेर भ्रमण वर्षको भव्य सुरुवात गर्ने पर्यटन मन्त्रीको भनाइले पनि प्रदेश सरकार कछुवाको तालमा रहेको प्रष्ट हुन्छ । भ्रमण वर्षको अवसरमा प्रदेश सरकारले श्रव्य–दृश्य सामग्री निर्माण गरेर सञ्चार माध्यममा प्रसारण गर्ने, भ्रमण वर्षको नारा बनाउने, ब्रोसर बनाउने, टिसर्ट तयार पार्ने, पर्यटकीय क्षेत्रको नक्सा बनाउनेलगायत योजना रहेको बताइरहँदा यी योजना भ्रमण वर्ष सकिने बेलासम्म पनि सम्पन्न नहुने हो कि भन्ने आशंका बढाएको छ ।
प्रदेशका विद्यमान पर्यटकीयस्थल र सम्भावनाको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गरी पर्यटकीय गतिविधि अभिवृद्धि गर्दै प्रदेशको अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले भ्रमण वर्ष आयोजना गर्नु सकारात्मक कार्य हो । बागमती प्रदेशमा रहेका ऐतिहासिक एवम् पुराना शहर, बस्तीहरुका साथसाथै कला, संस्कृति, चाडपर्व र रहनसहनको उचित प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्न पनि यस्ता कार्यक्रमले मद्दत गर्दछ । तर, प्रदेश सरकारको कामको गति, भ्रमण वर्षको तयारी र भ्रमण वर्षका लागि विनियोजित बजेट हेर्दा आशा र भरोसा गर्ने अवस्था छैन । विगतमा प्रदेश सरकारले घोषणा गरेको प्रदेश पर्यटन दशक २०२०–२०३० त्यत्तिकै हराएर गएका कारण पनि बिना तयारकिो प्रदेश भ्रमण वर्ष २०२४ बाट ठूलो आशा र अपेक्षा गर्नु बेकार हुनेछ ।