हेटौंडाः विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । मंगलबार बागमती प्रदेशको नुवाकोटमा २ जना, धादिङ र मकवानपुर जिल्लामा १–१ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–६ बखतीटोलमा एकजना वृद्धा मृत फेला परेकी छिन् । मृत्यु हुनेमा ७५ वर्षीया नेत्र कुमारी क्षेत्री रहेको प्रहरीले जानकारी दिएको छ ।
वृद्धा मंगलबार बिहान ७ बजेर ३० मिनेटको समयमा आफ्नै घर पछाडि रहेको बाख्राको खोर भित्र उत्तानो अवस्थामा मृत फेला परेको परेकी थिइन् । वृद्धाको अनुहारमा सामान्य दरालिएको चोट लागेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१० महावीरमा ढुङ्गाले लाग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय जित बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार सुख्खा पहिरो सडक सफा गर्ने क्रममा व्याक हो लोडरमा ढुङ्गा खसी लाग्दा तामाङको घटनास्थलमै मृत्यु भएको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–४ सुबिटारमा पानीको ड्रममा डुबी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ वर्ष ५ महिनाकी आशिका माझी रहेको प्रहरीले जानकारी दिएको छ । बालिका मंगलबार बिहान १० बजेको समयमा आफ्नै घरमा खेल्ने क्रममा पानीको ड्रममा डुब्दा घाइते भएकी थिइन् । घाइते माझीलाई उपचारका लागि टिचिङ अस्पताल मलेखु लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । माझीको शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ ।
यस्तै, हेटौँडा–१२ घरेटीडाँडामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा पदमपोखरीका ५५ वर्षीय कृष्ण बहादुर थापा मगर रहेको प्रहरी जानकारी दिएको छ । मगर आइतबार रातिदेखि हराएकोमा खोत गर्दै जाँदा मंगलबार बिहान ८ बजेर ३० मिनेटको समयमा घरेटीडाँडाको भिरबाट २ सय मिटर तल लडेर मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।