हेटौँडाः नवसर्जक साहित्य चौतारी नेपालले तेस्रो वार्षिकोत्सव समारोह भर्चुअल रूपमा बुधबार सम्पन्न भएको छ । २०७७ पुस १ गते नामकरण गरेर पहिलो कार्यसमिति चयन गरेको दिनको अवसरमा तेस्रो वार्षिकोत्सव बुधबार सम्पन्न गरिएको संस्थाका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमले जानकारी दिनुभयो ।
संस्थाकी अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता तथा प्रा.डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिकोत्सव समारोहमा प्रा. डा. ध्रुवकुमार घिमिरे, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, अग्रज साहित्यकार प्रभा भट्टराई विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा संस्थाका महासचिव समर्पण न्यौपानेले तीन वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने चौतारीका वरिष्ठ उपाध्यक्ष विभूति अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष प्रसन्ना चौलागाईँ, उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक जोशिका कँडेल ’निशा’, उपाध्यक्ष एवम् गण्डकी प्रदेश संयोजक कृतिका लामिछाने, महासचिव समर्पण न्यौपाने, नवसर्जक अनुसुया खनाल लगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, सल्लाहकारहरू रमेशमोहन अधिकारी, डिबी बर्ताैला, ओमकुमारी बन्जारा (रानाभाट), अर्चना दाहाल, जयन्ती आचार्य लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण उपमहासचिव रचना भण्डारीले गर्नुभएको थियो ।
चौतारीले आवधिक रूपमा विविध साहित्यिक विधाको प्रशिक्षण कार्यक्रम, अग्रज स्रष्टाका जन्मजयन्तीविशेष कार्यक्रम, प्रादेशिक बालसाहित्य उत्सवका साथै हरेक महिनाको चौथो शनिबार नवसर्जक मासिक शृङ्खला आयोजना गर्दै आएको संस्थाका महासचिव समर्पण न्यौपानेले बताउनुभयो ।