सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन र रामेछापमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । चितवनमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ भने रामेछापमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी सुनौल–८, जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान २ बजेर १५ मिनेटको समयमा भतेरी जंगलमा लु ८ प २५६८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गुरुङ घाइते भएका थिए । घाइते गुरुङलाई उपचारका लागि एलाईभ अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा बिहान ३ बजेर ९ मिनेटको समयमा डाक्टरले मृत घोषण गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका–७, हल्देमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट १२ मिटर तल खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–३ कोटगाउँका ५७ वर्षीय कमल बहादुर तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बुधबार धोवीबाट मन्थली जाँदै गरेको बा प्र ०२–०४३ प ४१८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तामाङ गम्भीर घाईते भएका थिए । घाइते तामाङलाई उपचारका लागि सामुदायिक अस्पताल मन्थलीमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।