हेटौँडाः जिल्ला प्रहरी कार्यालय बाराले १५ लाख बराबरको अवैध मोबाइलका सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–३ खोपवा टोलका रूपनारायण चौधरी रहेको बारा प्रहरी जानकारी दिएको छ ।
बुधबार दिउँसो ४ बजेको समयमा अवैध रूपमा लिएर आएका मोबाईलहरू लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिई गएको प्रहरी टोलीले चौधरीको घरमा पुगी सुरक्षाजाँच गर्दा अवैध मोबाइलका सामान फेला पारेको थियो । प्रहरीले विभिन्न कम्पनीका ५१ थान मोबाईल सेट, ४८ थान चार्जर, व्याट्री ९ थान र मोबाईल कभर १४ थान गरी १५ लाख बराबरको सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ । चौधरीलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।