भीमफेदी गाउँपालिका भवन ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका आज बिहीबारबाट पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट छुट्याएको हो ।

प्रतियोगिताअन्तर्गत् महिला तथा पुरुष भलिबल, एथ्लेटिक्स, ज्याभलिङ थ्रो, सटपुट थ्रो, हाइजम्प, लङजम्पलगायतका खेलहरु हुने भीमफेदी गाउँपालिका–२ स्थित कृष्ण माविका खेल शिक्षक दीपक पुडासैनीले जानकारी दिनुभएको छ । प्रतियोगितामा पालिकाका मावि तहका ८ वटा विद्यालयबाट करिब ४ सय जना विद्यार्थीहरु सहभागी हुनसक्ने शिक्षक पुडासैनीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम, द्वितीय र तृतीय हुने टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले मंसिर मसान्तसम्म पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने निर्देशन दिए पनि विभिन्न कारणहरुले गर्दा कतिपय पालिकाहरुमा प्रतियोगिता सञ्चालनमा ढिलाई भएको पाइएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई सार्थक पार्न २०७६ सालबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै आएको छ । हरेक पालिकास्तरीय प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय प्रतियोगिता हुँदै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराउने गरेको छ ।