सिफारिस समितिले प्रस्तुत गरेको प्रतिवेदन ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले गठन गरेको व्रोइलर कुखुराको मासुको मूल्य निर्धारण सिफारिस समितिले किसानले विक्री गरेको मूल्यमा प्रतिकेजी ९० रुपैयाँ जोडेर उपभोक्ता मूल्य कायम गर्न उचित हुने सुझाव पेश गरेको छ । हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा समितिका सदस्य महेश्वरमान श्रेष्ठको संयोजकत्वमा गठिन समितिले व्यवसायीले २० प्रतिशत नाफा राख्दा पनि किसानसँग खरिद गरेको मूल्यमा प्रतिकेजी ९० रुपैयाँ जोडेर विक्री गर्न सकिने जनाएको छ ।

सिफारिस समितिका पदाधिकारीको हस्ताक्षरसहितको पृष्ठ ।

सिफारिस समितिले बुधबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामालाई प्रतिवेदन बुझाएको छ । समितिमा उपभोक्तावादी बासु खतिवडा, कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रतिमा श्रेष्ठ, नेपाल स्वस्थ (हलाल) माछामासु संघका अध्यक्ष समीम अन्सारी, माछामासु व्यवसायी संघ मकवानपुरका नारायण राजथला, हेटौंडा मासु व्यवसायी संघका अध्यक्ष सूर्य अधिकारी, हेटौंडा उपमहानगरपालिकाका पशु चिकित्सक डा. कमल अधिकारी, अधिकृत हिम प्रसाद पौडेल रहेका छन् । समितिले कुखुराको लागत मूल्यका बारेमा पनि प्रतिवेदन तयार पारेको छ ।

महेश्वरमान श्रेष्ठ नेतृत्वको सिफारिस समितिले बुझाएको प्रतिवेदनलाई हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा पेश गर्ने निर्णय उपमेयरको संयोजकत्वमा रहेको अनुगमन समितिले गरेको छ । बुधबार प्रतिवेदन बुझेलगत्तै बसेको बैठकले प्राप्त प्रतिवेदनलाई कार्यपालिकामा पेश गर्ने निर्णय गरिएको उपमेयर मीनाकुमारी लामाले जानाकरी दिनुभएको छ ।