अस्मिता भट्टराई सांकेतिक चित्र ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा लकडाउनको समयमा पनि गर्भवती महिलाहरुको नियमित गर्भजाँच भइरहेको छ । लकडाउनले नियमित गर्भजाँचमा असर नपरेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामनाम थिङले बताउनुभयो ।

चालु आर्थिक वर्षमा भीमफेदी गाउँपालिकमा २० वर्षभन्दा मुनिका ४३ जना गर्भवती महिला रहेका छन् भने २० वर्षभन्दा माथिका २ सय ८७ जना महिलाहरु रहेको गाउँपालिकाले जनाएको छ । भीमफेदी गाउँपालिकाको ८ वडा वडामध्ये ५ वटा वडामा मात्र बर्थिङ सेन्टर रहेको छ । गाउँपालिकाको वडा नम्बर २, ४, ६, ७ र ८ मा मात्रै अहिले बर्थिङ सेन्टरको पहुँच पुगको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा सबै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र सुत्केरी महिलाहरुको लागि पोषिलो खाद्यान्न वितरण गर्ने कार्यक्रम ल्याउने योजना बनाएको छ ।

जारी लकडाउनको समयमा भीमफेदी गाउँपालिकामा एउटा बालबिवाह रोकिएको थियो । भीमफेदी गाउँपालिकामा सन् २०२० को ५ महिनामा १० वटा बालबिवाह रोकिएको थियो । गत वर्षमा भीमफेदीमा २ वटा बालबिवाह रोकिएको सिविन बालहेल्पलाइनले जनाएको छ । बालबिवाह कै कारण २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनेको संख्या बढ्दै गएको छ ।