हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको ३ नम्बर वडाध्यक्ष मानबहादुर स्याङ्तानको आज निधन भएको छ । उहाँ केही महिनादेखि बिरामी हुनुहुन्थ्यो । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार क्यान्सर भएपछि पछिल्लो तीन महिनादेखि उपचारमा कहिले चितवन, कहिले काठमाडौं पुग्नु भएका स्याङ्तान १० दिनदेखि चितवनस्थित चितवन मेडिकल कलेजमा उपचाररत हुनुहुन्थ्यो ।
अन्दाजी ६० वर्षका स्याङ्तानको आज बिहिबार राती करिब ९ बजेको समयमा निधन भएको खबर आएको गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्ष जित्नु भएका स्याङ्तान यसअघि साविक हाँडीखोला गाविसका उपाध्यक्ष समेत रहनुभएको थियो । स्वास्थ्यमा समस्या भएपछि कार्यबाहक वडाध्यक्ष बिष्णु थिङलाई बताइएको थियो । बिहिबार राती नै स्याङ्तानको शव चितवनबाट मनहरी ल्याइएको छ ।