हेटौँडाः हेटौँडा–१८, दोभानचौरस्थित कमला आधारभूत विद्यालयमा खेलकुद सप्ताह सकिएको छ । मंसिर २५ गतेदेखि २९ गतेसम्म भएको खेलकुद सप्ताहअन्तर्गतका विभिन्न प्रतियोगिताका विजयी खेलाडीलाई पुस ६ गते शुक्रबार विद्यालयको ४८ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण गरिने प्रधानाध्यापक गोविन्द उप्रेतीले जानकारी दिनुभएको छ ।
खेलकुद सप्ताहअन्तर्गत भएको माथिल्लो कक्षा विद्यार्थीको १०० मिटर दौड, हाईजम्प, लङ्ग जम्प, फुटबल जस्ता विभिन्न विधामा प्रतिष्पर्धा गराइएकोे थियो । साना कक्षाका विद्यार्थीका लागि मेमोरी टेस्ट, चकलेट दौड, बेलुन फुटाउने, स्किपिङजस्ता खेलबीच प्रतिष्पर्धा गराइएको विद्यालयले जनाएको छ । प्रतियोगिताका विजयीले ६० वटा स्वर्ण पदक, ४० वटा रजत पदक र ४० वटा कास्य पदक पाउनेछन् ।
विद्यार्थीको चौतर्फी विकासका लागि किताबी ज्ञानसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई विद्यालयले प्राथमिकता दिँदै आएको प्रधानाध्यापक उप्रेतीको भनाइ छ । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा तीन सय ३० जना विद्यार्थी छन् । विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावकसँग नियमित अन्तरक्रिया गरिरहेको, ५ कक्षासम्म अंग्रेजी माध्यममा व्यवस्थित कक्षा सञ्चालन गरिरहेको, विद्यालयको भौतिक संरचनाको सुधार तथा आकर्षक बनाई बालमैत्री बनाउँदै गरेको प्रधानाध्यापक उप्रेतीले बताउनुभयो ।