हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा म्यानेजमेन्ट फेस्ट–२०२३ सुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने फेस्टमा विद्यार्थीका विविध क्रियाकलाप हुनेछ । बुधबार बिहान म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको माइक्रमे वायोलोजीका सह–प्राध्यापक डा. प्रमोद पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।

फेस्टको पहिलो दिन वक्तृत्वकला, सूचनाप्रविधिसम्बन्धी हाजिरीजवाफ, ग्राफिक डिजाइन प्रतियोगिता र विषयवस्तु अध्ययनसम्बन्धी प्रतिस्पर्धाको कार्यक्रम भएको छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बास्केटबल कोर्टमा भएको म्यानेजमेन्ट फेस्टको दोस्रो दिन वादविवाद प्रतियोगिता, विषयवस्तु अध्ययनसम्बन्धी प्रतिस्पर्धा, वेस्ट आउट अफ वेस्ट र ट्याग द ब्राण्डको आयोजना गरिनेछ भने शुक्रबार समापनको दिन सूचनाप्रविधिमा आधारित कार्यक्रम प्रतिस्पर्धा, नाट्य प्रतियोगिता, डिबगिङ प्रतियोगितासँगै समापन तथा पुरस्कार वितरण र सांगीतिक कार्यक्रम हुनेछ ।

विद्यार्थीले औपचारिक शिक्षा हासिल गरेपछि त्यसको व्यवहारिक अभ्यास गर्ने अवसरको रुपमा फेस्टको आयोजना गरिएको म्यानेजमेन्टले जनाएको छ । स्नातक तहका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीकै विभिन्न ९ वटा समूहले खानाका स्टलहरु समेत राखेका छन् । वाणिज्य संकाय र सूचना प्रविधिसम्बन्धी विषय अध्ययनरत विद्यार्थीमा व्यावसायिक र पेशागत व्यवहारको विषयमा जानकारी हासिल गर्न सहयोग पुग्ने अपेक्षासहित फेस्टको आयोजना गरिएको हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले बताउनुभएको छ ।