हेटौँडाः रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक्ट क्लब अफ हेटौँडाले हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविरको सुरुवात गरेको छ । बुधबार मकवानपुरको बकैया गाउँपालिका–७, भिरकोट र रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६, पेटभरुवामा निशुल्क आँखा शिविर आयोजना गरी शिविरको सुरु भएको हो । दुई स्थानमा चार सय ७२ जनाले आँखा परीक्षण गर्दा एक सय ३२ जनामा मोतिविन्दु पहिचान भएको छ ।
बकैया गाउँपालिका–७ मा दुइ सय २१ जनाको आँखा परीक्षण गर्दा २२ जनामा मोतिविन्दु पहिचान भएको छ भने विजयपुरमा दुइ सय ५१ जनाको आँखा परीक्षण गर्दा एक सय नौ जनामा मोतिविन्दुको समस्या पहिचान भएको छ । रोटरी क्लब अफ हेटौँडाले वर्षको दुई पटक आयोजना गर्ने गरेको निशुल्क आँखा शिविर यस बर्ष बुधबारदेखि शनिबारसम्म मकवानपुरसँगै चितवन, रौतहट र बारा जिल्लाका ६ स्थानहरुमा निशूल्क आँखा शिविर सञ्चालन गरिने बताइएको छ ।
शिविरमा मोतिविन्दु पहिचान भएका विरामीलाई आइतबार र सोमबार हेटौँडास्थित हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिनेछ । अस्ट्रेलियाको तास्मानियास्थित रोटरी क्लबहरुको सहयोगमा रोटरी क्लब अफ हेटौँडाले हरेक वर्ष आँखा शिविरको आयोजना गर्ने गरेको छ ।