करिब ५ वर्ष अघि हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने प्रदेश सरकारको घोषणापछि अस्पतालको स्तरोन्नति हुँदै गएको छ । आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा गरेको थियो । प्रदेश सरकारले हेटौंडा अस्पताललाई ३ सय सैयाको बनाउने निर्णयसँगै करिब २८ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण पनि सुरु भएको थियो । बागमती प्रदेश सरकार र संघीय सरकारको कार्यक्रम तथा बजेटबाट अहिले हेटौंडा अस्पतालको सेवा सुविधा वृद्धिसँगै स्तरोन्नति भइरहेको छ । अस्पतालमा नयाँ भवन निर्माण सम्पन्न भएर सेवा सुचारु भइसकेको छ भने अर्को नयाँ भवन निर्माण भइरहेको छ । अस्पतालमा सबैजसो रोगको विशेषज्ञ चिकित्सकसहित उपचार सेवालाई सहज बनाइएको छ । बिरामीको स्वास्थ्य उपचारका लागि आवश्यक मेशिन, उपकरण तथा उपचार कक्षहरुको व्यवस्थापन गरिएपछि धेरै रोगको उपचार हेटौंडामा हुन थालेको छ ।
बागमती प्रदेश सरकारअन्तर्गत्को मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहको विभिन्न विषयको अध्यापनसमेत सुरु गरिसकेको छ । शिक्षण अस्पतालसहित मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको प्रतिष्ठानले प्रदेशका विभिन्न अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन आवश्यक तालिमको सुरुवातसमेत गरेको छ । आइतबार प्रतिष्ठानले हेटौंडा अस्पतालमा एक वर्षे एनेस्थेसिया सहायकको तालिम सुरु गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले उद्घाटन गरेको तालिममा ३ जना सहभागी भएका छन् । मन्त्रालयले पटक–पटक सूचना निकाले पनि एनेस्थेसिया सहायकको जनशक्ति नपाएपछि आफैंले तालिम सञ्चालन गरेर जनशक्ति उत्पादन गर्न लागेको बताइएको छ । तर, तालिममा जम्मा ३ जनामात्र सहभागी हुँदा तालिमका लागि गरिने लगानीको अनुपातमा प्रतिफल न्यून हुने भएको छ । एक वर्षे तालिम लिएपछि प्रदेश मातहतका अस्पतालहरुमा सेवाको अवसर पाउने र एनेस्थेसिया जनशक्तिको सहज उपलब्धताले सुरक्षित मातृत्व कायम हुने र मातृ मृत्युदर घटाउन सहयोग पुग्दछ ।
एनेस्थेसिया जनशक्ति पर्याप्त नहुँदा कतिपय अस्पतालमा शल्यक्रिया सेवा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ । जनशक्तिको माग उच्च र तालिमपश्चात् सेवाको अवसर सुनिश्चित हुँदा पनि तालिममा अपेक्षित सहभागिता नहुनु दुःखद् मान्नुपर्छ । तालिममा सहभागिताका लागि स्वास्थ्य मन्त्रालयले निकालेको सूचनाबमोजिम पाँच जनाले निवेदन दिएकोमा तीन जना छनौट भएको बताइएको छ । तीमध्ये पनि एकजनालाई पूर्ण छात्रवृत्ति दिइएको छ भने २ जनाले तालिमका लागि शुल्क तिर्ने भएका छन् । संघीयता कार्यान्वयनमा आएसँगै सबै स्थानीय तहमा अस्पताल निर्माणको क्रम चलिरहेको छ । विगतमा संघीय सरकारले अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम अघि सारेर एकैपटक उद्घाटन गरेका सयौं अस्पताल निर्माण सम्पन्न भई सञ्चालनको क्रममा रहेका छन् । यसले स्वास्थ्यसँग सम्बन्धित जनशक्तिको माग अझ बढ्ने निश्चित छ ।
स्वास्थ्य विषयका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रम तथा तालिममा विद्यार्थीको आकर्षण देखिएको छैन । प्रतिष्ठानको स्थायी संरचना नहुनु, एमबीबीएस सञ्चालन स्वीकृति नपाउनु, मेडिकल कलेज सञ्चालनको ठोस तयारी नदेखिनु, प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप र प्रभाव देखिनुले प्रतिष्ठानप्रति पर्याप्त विश्वास कायम हुन सकिरहेको छैन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना शैक्षिक कार्यक्रम तथा स्वास्थ्य सेवालाई प्रभावकारी बनाएर विश्वास आर्जन गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि प्रतिष्ठानअन्तर्गत्को हेटौंडा अस्पतालमा सबै रोगको उपचार सुनिश्चित गर्दै प्रतिष्ठानले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रमको नतिजामा ध्यान दिनु आवश्यक छ ।











