खेतीबालीका लागि मल लिन हेटौंडा बजार आएका किसानहरु धर्नामा बसेका खबरहरुले कृषिप्रधान देशको हविगतलाई प्रष्ट्याएको छ । कोरोनाको डरलाग्दो कहरमा रहेका किसानहरुलाई मलखादको समस्या थपिएको छ । मल नपाएपछि किसानहरु सरकारबिरुद्ध नारा लगाउँदै धर्ना समेत बसे । तर उनीहरुका माग सुनुवाई भएन मात्र हैन कि प्रहरीले उनीहरुलाई बलजफती सडकबाट हटाएको छ । जो होचो उसैलाई घोचो भन्ने उखान जस्तै पीडितहरुलाई नै पीडा थपिने गर्दछन् । तर सत्तामा बसेकाहरुले आफ्नो जिम्मेवारी र दायित्व बुझ्ने प्रयास नगर्नु दुखद् पक्ष हो । मकैबालीमा युरिया मल हाल्ने बेला भएको छ । यस समयमा किसानले सके अनुदानमा नत्र सस्तो मूल्यमा मल खरिद गर्न पाउनु पर्ने हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै लागु भएको लकडाउनले जनता रोग भन्दा पनि पहिला भोकले मर्न थालेका छन् । त्यस माथि उत्पादन गर्नु पर्ने अन्नलाई आवश्यक पर्ने मलखाद नै नपाएपछि अवका दिनमा मानिस भोकले मर्नुपर्ने अवस्था पक्का नै छ । मौसम अनुसार किसानहरुले बाली लगाउने समयमा बीउ तथा मलखाद नपाउने हो भने भोकले महामारीको रुप लिने छ । त्यसैले सम्बन्धित निकायहरुले नागरिक आवश्यकतालाई यथासक्य छिटो सम्बोधन गर्नु पर्दछ । युवालाई व्यवसायी खेतीप्रति आकर्षित गर्ने हो भने सहुलियतमा ऋणदेखि औजारमा अनुदानको व्यवस्था हुनु पर्दछ । तर अन्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा आधुनिकीकरण गर्नेदेखि उत्पादनलाई बजारीकरणको योजना नारामा मात्र सीमित हुने खतरा छ ।

नेपाल अझै पनि कृषिप्रधान देशका रुपमा परिचित छ । तर यहीँका किसानहरुले खेती गर्न आवश्यक पर्ने औजार तथा बीउविजनदेखि मल समेत पाउन सकेका हुँदैनन् । उनीहरु बाध्यतामा धर्ना बस्नु पर्ने अवस्था आउने गर्दछ । यो समस्या मकवानपुरको मात्र नभई देशका अन्य क्षेत्रमा पनि देखिएको छ । सरकार र अपुर्तिकर्तालाई मौसम अनुसार मल, बीउ र औजारको ज्ञान नै नभएको त हैन ? नत्र किसानहरुलाई आवश्यक पर्ने सेवा आपुर्तिमा किन ढिला हुने गर्दछ ? किसानप्रति गम्भीरता नै नभएको त हैन ? यदि कृषि पेशा क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्ने नै हो र धेरै जनशक्तिलाई रोजगारी दिने हो भने यस क्षेत्रमा हुँदै आएको कमजोरीको जिम्मेवारी लिनै पर्दछ ।

सरकारको नीति तथा कार्यक्रमदेखि बजेटमा युवालाई कृषि पेशामा आवद्ध गराउने योजना अघि सारिएको छ । तर सरकारी संयन्त्रको ढिलासुस्ती गर्ने बानी र कमिसनको आशले किसानहरु मर्का पर्नु उनीहरुको नियती नै बन्ने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत अनुदानको युरिया मल सहकारीमार्फत् किसानलाई बिक्री गर्ने गर्दछन् । वितरण गर्ने सहकारीहरु साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीले उपलव्ध गराउन नसकेको जवाफ दिन्छन् । यस्तो परिस्थितिमा किसानले सोमबार हेटौंडाको मुख्यचोक बुद्धचोक र हेटौंडा उपमहानगरपालिकामै पुगेर उपमेयरको कार्यकक्षमा धर्ना दिए ।

किसानले धर्ना दिन आएपछि उपमेयर लामाले अग्रसरता देखाउनुभएर किसानलाई मल उपलब्ध गराउने प्रयत्न गर्नुभयो । उपमेयरले मल उपलब्ध गराउने आशाकै कारण मंगलबार हजारभन्दा बढी संख्यामा किसान मल लिन हेटौंडा आएका थिए । मंगलबार सहकारीले एकजनालाई २० केजीका दरले मल वितरण गरेको छ । सहकारीले मंगलबार ४२० बोरा मल वितरण गरेको छ । अझै पनि किसानले मल पर्याप्त नभएको गुनासो गरेका छन् । जनप्रतिनिधिले पहल गर्दा केही सहजता हुने देखिएको छ । यस्तोमा जनप्रतिनिधिले जनताका समस्यालाई समाधान गर्नतर्फ ध्यान दिने हो भने भोलिका दिनमा किसानले यस्तो समस्या भोग्नुपर्ने बाध्यता हट्ने आशा गर्न सकिन्थ्यो ।