हेटौंडाः नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बनाउँदै गरेको हेटौंडा उपमहानगरपालिकालाई २० प्रतिशत बजेट शिक्षाका लागि छुट्याउन माग गरेको छ । महासंघका हेटौंडा उपमहानगर समितिका अध्यक्ष दीपक अधिकारी नेतृत्वको एक समूहले आज मंगलबार हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखामा २१ बुँदे सुझावसहितको ध्यानाकर्षणपत्र बुझाएको छ ।
महासंघले शिक्षकको तलब मासिक उलब्ध गराउनुपर्ने, अंग्रेजी माध्यम सञ्चालन गरेका विद्यालयलाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने, अंग्रेजी माध्यममा अध्यापन गर्ने शिक्षकलाई तालिम प्रदान गर्न बजेटको व्यवस्था गर्नुपर्ने, नगरका दुर्गम क्षेत्रका शिक्षकले पाउँदै आएको भत्ता बढाउनुपर्ने, विद्यालयको विद्युत तथा पानीको महसुल नगरपालिकाले नै व्यहोर्नुपर्ने, विद्यालयमा ईन्टरनेट जडान गर्नुपर्ने, शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गर्न बजेट विनियोजन गर्नुपर्ने माग महासंघले राखेको छ ।
यस्तै महासंघले विद्यालयका कर्मचारी र बालविकास सहयोगी शिक्षकलाई प्रोत्साहनका लागि बजेट विनियोजन गर्नुपर्ने, निजी श्रोतमा कार्यरत शिक्षकले लकडाउनका बेला व्यहोर्नुपरेका समस्या समाधान गर्नुपर्ने, विषयगत शैक्षिक सामग्री निर्माण र तालिमका लागि बजेट विनियोजन गर्न पनि सुझाव दिएको छ । विद्यालयका प्रधानाध्यापक र लेखा राख्ने शिक्षकलाई लेखा सम्बन्धी तालिमका लागि बजेट विनियोवन गर्न, सवै विद्यालयमा नर्स कार्यक्रम सञ्चालन गर्न पनि माग गरेका छन् ।