हेटौंडालाई धेरै अघिदेखि देशकै सफा शहरको रुपमा चिनिन्छ । बढ्दो जनसंख्या र शहरीकरणसँगै सफा शहरको रुपमा परिचित हेटौंडामा फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ । हेटौंडा उपमहानगरपालिकाले धेरै पहिलादेखि नगरका मुख्य क्षेत्रमा सहभागितामूलक फोहोर संकलन तथा व्यवस्थापन गरिरहेकोमा पछिल्लो समय नगरका सबै क्षेत्रमा यसलाई विस्तार गरिएको छ । उपमहानगरपालिकाले हरियो र सफा शहर सेवा प्रालिलाई नगरबासीसँग निश्चित सेवा शुल्क लिने गरी फोहोर संकलनको जिम्मा दिएको छ । मुख्य बजार क्षेत्रका सडक दैनिक बढारेर उपमहानगरपालिका आफैंले फोहोर उठाउने गरेको छ भने घरायसी तथा व्यावसायिक फोहोर संकलनको जिम्मा हरियो र सफा शहर सेवा प्रालिलाई दिएको छ । हेटौंडामा फोहोर संकलन कार्य सन्तोषजनक रहेको भए पनि संकलित फोहोरको उचित व्यवस्थापनका लागि उपयुक्त डम्पिङ साइटको समस्या रहेको छ ।
हेटौंडा उपमहानगरपालिकाले केही वर्षदेखि फोहोर डम्पिङ गर्न जग्गाको खोजी गरिरहेको भए पनि उपयुक्त डम्पिङ साइटको प्रबन्ध गर्न सकेको छैन । स्थायी डम्पिङ साइट नभएका कारण हेटौंडा उपमहानगरपालिकामा संकलन भएको फोहोरलाई हेटौंडा–१० स्थित राप्ती खोला किनारमा डम्प गर्ने गरिएको छ । राप्ती खोलाको बगरमा करिब १४ बिगाहा क्षेत्रमा उपमहानगरपालिकाले अस्थायी डम्पिङ साइट बनाएर संकलित फोहोर व्यवस्थापन गर्दै आएको छ । फोहोर संकलन तथा व्यवस्थापनका लागि उपहानगरपालिकाले २ वटा सानो टिपर, २ वटा ट्याक्टर, एउटा कम्प्याक्टर र एउटा डम्पिङ साइटमै बस्ने जेसीबीको प्रयोग गरिरहेको छ । निर्धारित तालिकाअनुसार घर तथा पसलबाट सशुल्क फोहोर संकलन गर्दै आएको हरियो र सफा शहर सेवा प्रालिले ११ वटा ट्रयाक्टरमार्फत् दैनिक २६ टन फोहोर संकलन गर्दै आएको छ ।
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, २, ४, ५ र १० मा स्रोतमै फोहोर वर्गीकरण गरी हप्ताको दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोर संकलन गर्ने गरिएको छ । अन्य वडामा भने प्रत्येक महिना कम्तिमा २ पटकदेखि बढीमा ५ पटकसम्म गाडीले फोहोर संकलन गर्ने गरेको छ । यसरी फोहोर संकलन गरेबापत प्रत्येक घर तथा व्यवसायबाट मासिक न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम २ सय रुपैयाँसम्म सेवा शुल्क लिने गरेको छ । संकलन भएको फोहोरलाई रिसाइकल गर्न मिल्ने र नमिल्ने, कुहिने र नकुहिने छुट्याएर डम्पिङ साइटमा पठाउने गरेको छ । नकुहिने फोहोरमध्ये केही प्लाष्टिकलाई रिसाइकलसमेत गर्ने गरिएको छ । अहिले प्रयोग गरिँदै आएको डम्पिङ साइटनजिक बस्ती नभएका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने भए पनि खोला किनारमा फोहोर डम्पिङ गरिँदा पर्यावरणका अन्य क्षेत्रमा असर पर्नसक्ने देखिन्छ ।
वर्षौंदेखि व्यवस्थित र स्थायी डम्पिङ साइटको उचित व्यवस्थापन हुन नसक्दा हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । उपमहानगर क्षेत्रबाट उत्पन्न हुने सबै प्रकारका फोहोरको उचित वर्गीकरण र व्यवस्थापन नहुँदा फोहोरले समस्या निम्त्याउन सक्नेतर्फ उपमहानगर नेतृत्व गम्भीर बन्नुपर्छ । वर्षौं अघिदेखि फोहोरलाई मोहरमा परिणत गर्ने नीति सार्वजनिक गर्दै आएको उपमहानगरपालिकाले फोहोरको प्रभावकारी व्यवस्थापनका लागि उचित कार्यक्रम ल्याउन सकेको छैन । उपहानगरपालिकाको सबै क्षेत्रमा कम्तिमा हप्ताको दुई पटक कुहिने र नकुहिने फोहोर संकलन गर्नु आवश्यक छ । संकलित फोहोरको वर्गीकरण गरेर कुहिने फोहोरबाट जैविक मल बनाउने र नकुहिने फोहोरलाई रिसाइकल गर्ने उपयुक्त संयन्त्र निर्माण गर्नु उचित हुनेछ । तोकिएको समयतालिकाअनुसार नियमितरुपमा फोहोर संकलन गरेर सुरक्षित डम्पिङ साइट निर्माण गरी फोहोरको प्रभावकारी व्यवस्थापन गर्न सकेमा सफा र सुन्दर हेटौंडाको चिनारी कायम रहन सक्छ ।