हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । हेटौँडा–सिन्धुली सडकखण्डअन्तर्गत बकैया–४, पाङदुरेमा बुधबार अटो दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिनुभयो ।
बुधबार दिउँसो १ बजेर ५० मिनेटको समयमा हात्तीसुँडेबाट जुरेलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह ३३९ नम्बरको अटो आफै अनियन्त्रित भएर दुर्घटना भएको हो । अटो दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र अन्य चारको मध्यम रहेको प्रहरी निरीक्षक साहले बताउनुभयो ।
गम्भीर घाइते हुनेमा बकैया–३, जीतदमारका १२ वर्षीय सृजल जिम्बा रहेका छन् । दुर्घटना हुँदा जिम्बाको पेटमा गहिरो चोट परेको र स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ । अटो दुर्घटना हुँदा जिम्बाका बुबा ३४ वर्षीय देवलाल जिम्बा र आमा ३१ वर्षीया ठुलीमाया मध्यम घाइते भएका छन् । यस्तै बकैया–४ की २६ वर्षीया सुनिमाया भ्लोन र बकैया–५ का १२ वर्षीय युदिर बोगटी घाइते भएका छन् । घाइतेको उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।