हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका १० वटा विद्यालयमा खेल्दै–सिक्दै कार्यक्रम सञ्चालन भइरहेको छ । शिक्षक र विद्यार्थीलाई सिक्ने–सिकाउने प्रक्रियामा प्रभावकारी अभ्यास गर्न, गराउन अभिप्रेरित गराउने उद्देश्यले हेटौँडा–१६, हटियास्थित जनप्रिय माविको समन्वयमा जनप्रिय माविसँगै १० विद्यालयमा खेल्दै–सिक्दै कार्यक्रम लागु गरिएको हो ।
काठमाडौंस्थित कारखाना समूहसँगको सहकार्यमा खेल्दै सिक्दै कार्यक्रम भइरहेको छ । गत शुक्रबार र आइतबार दुइदिन १० वटा विद्यालयका २० जना शिक्षकलाई खेल्दै–सिक्दै अवधारणाबारे अभिमुखीकरणमूलक कार्यशालाको आयोजना गरिएको थियो भने शनिबार १० विद्यालयका ३० जना विद्यार्थीको सहभागितामा कार्यशाला आयोजना गरिएको थियो । गत असारदेखि सुरु भएको खेल्दै–सिक्दै कार्यक्रममा ७ वटा सामुदायिक विद्यालय र ३ वटा निजी विद्यालयका २० जना शिक्षक र ६ सय विद्यार्थी सहभागी छन् । खेल्दै–सिक्दै कार्यक्रममा कक्षा ६, ७ र ८ का विद्यार्थी सहभागी छन् ।
शिक्षक र विद्यार्थी बीच सिक्ने–सिकाउने प्रक्रियामा उत्साह बढाउन, लगानशील बनाउन, अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले खेल्दै सिक्दै अवधारणा लागु गरिएको कारखाना समूहका निर्देशक हसिन शाक्यले जानकारी दिनुभएको छ । सिक्ने–सिकाउने प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्ने, सामाजिक अन्तरक्रिया, पाठ्यक्रमका सिकाईलाई व्यवहारमा उतार्न प्रेरित गर्नु खेल्दै–सिक्दै कार्यक्रमको प्रमुख उद्देश्य रहेको शाक्यले स्पष्ट पार्नुभयो ।
खेल्दै–सिक्दै कार्यक्रमका लागि मकवानपुर जिल्ला संयोजक समेत रहनुभएकी साङ्देन घिसिङले हेटौँडा उपमहानगरका १० विद्यालयमा खेल्दै–सिक्दै कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रयास भइरहेको बताउनुभयो । हेटौँडाका १० विद्यालयका शिक्षक, विद्यार्थी दुबैको उत्साहजनक सहभागिता भइरहेको उहाँको भनाइ छ । कारखाना समूहले काठमाडौं उपत्यकाका तीन जिल्लासँगै मकवानपुर, काभ्रे, कैलाली र गुल्मी जिल्लामा पनि खेल्दै–सिक्दै कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जनप्रिय माविसँगै बालबोध मावि, बंशगोपाल मावि, नवज्योति मावि, चन्द्रोदय मावि, जनजागृति मावि, चुरियामाई मावि, सुनगाभा शिक्षा निकेतन, गौरीशंकर इंग्लिस बोर्डिङ स्कूल र मकवानपुर बालविद्या सदन खेल्दै सिक्दै कार्यक्रममा सहभागी छन् । जनप्रिय माविका अतिरिक्त क्रियाकलाप संयोजक एवम् खेल्दै–सिक्दै कार्यक्रमको अगुवाई गरिरहनुभएका युक्तलाल बिश्वकर्माले खेल्दै–सिक्दै कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभएको छ । रचनात्मक तरिकाबाट बालबालिकालाई सिकाईमा सहभागी गराउने प्रयास भइरहेको उहाँको भनाइ छ । शिक्षक र विद्यार्थीका लागि आयोजना गरिएको कार्यशालामा सहजीकरणका लागि आउनुभएका कारखाना समूहका पदाधिकारीले विद्यालयको अनुगमन समेत गर्नुभएको छ ।