मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा वृहत् खेलकुद तथा व्यापार महोत्सव हेटौंडा हुँदैछ । आगामी पुस ५ गतेबाट पुस १७ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । हेटौंडा–१०, टीसीएनचौरमा हुने महोत्सवको विषयमा विवाद देखिएको छ । खेलकुद विकास समितिले व्यापार मेला गर्न लागेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले विरोध गरेको हो । खेल सम्बद्ध संस्थाले खेलकुद महोत्सव गर्नु उचित भए पनि व्यापार महोत्सव गर्न लागेकोमा उद्योग वाणिज्य संघले त्यसको विरोध गरेको छ । संघले व्यापार महोत्सव स्थगित गर्न जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई आइतबार ध्यानाकर्षणपत्र बुझाएको छ । व्यवसायीहरुको विभिन्न विषयगत तथा वस्तुगत संघ संगठनमार्फत् यसअघि उक्त व्यापार महोत्सव रोक्न हेटौंडा उपमहानगरपालिकालाई ध्यानाकर्षण गराए पनि कुनै निष्कर्ष निस्किएको छैन ।

खेलकुद विकास समितिले खेलकुदसम्बन्धी क्रियाकलाप समेटेर खेलकुद महोत्सवमात्र गर्नुपर्ने संघको माग रहेको छ । आर्थिक मन्दीलगायतका विभिन्न चुनौती चलिरहेको समयमा हेटौंडाका स्थानीय व्यवसायीहरुलाई असर पर्नेगरी उक्त व्यापार महोत्सव गर्न लागिएकाले महोत्सव रोक्नुपर्ने संघको माग रहेको छ । २०७६ मंसिर १० गते गृह मन्त्रालयको परिपत्रअनुसार व्यापारिक मेला उद्योग वाणिज्य संघले मात्र गर्न पाउने व्यवस्थाअनुसार मेला रोक्नुपर्ने संघको दावी छ । महोत्सवले जिल्लाको व्यावसायिक वातावरण बिग्रन सक्ने र त्यसबाट उत्पन्न हुनसक्ने असरको पूर्ण जिम्मेवारी आयोजक स्वयम्को हुनेसमेत संघले जनाएको छ । खेलकुद, व्यापार, पर्यटन प्रवद्र्धनसँगै मनोरञ्जनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा १३ विधामा जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेल प्रतियोगिता, नृत्य प्रतियोगिता, मनोरञ्जनात्मक खेलसहित बाल उद्यान, राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसँगै अटोमोबाइल, लत्ताकपडा, भाँडाकुँडा, खानालगायतका प्रदर्शनी तथा बिक्री स्टलहरु रहनेछन् ।

व्यापार, व्यवसाय, कृषि, उद्योग, पर्यटन, कला, संस्कृति, खेलकुदलगायतका आर्थिक तथा सामाजिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य राखेर मकवानपुरलगायत देशभर वर्षेनि विभिन्न मेला तथा महोत्सव आयोजना भइरहेका छन् । तर, प्रायः सबै मेला, महोत्सव व्यावसायिक प्रवद्र्धनभन्दा पनि मनोरञ्जन केन्द्रित हुने गरेका छन् । रमाइला खेल तथा मनोरञ्जनप्रति नै महोत्सव अवलोकनकर्ता झुम्मिने गरेको पाइन्छ । जुनसुकै संस्थाले जेसुकै उद्देश्य राखेर मेला, महोत्सव आयोजना गरिए पनि उद्देश्यमूलक बन्न सकेको पाइँदैन । मेला र महोत्सव भन्नेवित्तिकै नाच्ने, गाउने, रोटेपिङ्ग खेल्ने, सर्कस हेर्ने, मनोरञ्जन गर्ने, खाने र तिनैमा अवलोकनकर्तालाई आकर्षित गरी पैसा कमाउने प्रवृत्ति हावी भइरहेको छ । महोत्सवको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने सिमित स्टल हुने, ती स्टलहरुमा अवलोकनकर्ताको ध्यान नजाने, विभिन्न रमाइला खेल, मनोरञ्जन तथा स्टेजमा हुने सांगीतिक कार्यक्रममै बढी अवलोकनकर्ताको भीड देखिने गरेको विगतका मेलाहरुले पुष्टि गर्दछ । आयोजकले पनि धेरै दर्शक/अवलोकनकर्तालाई आकर्षित गर्न मनोरञ्जनलाई बढी महत्व दिने गरेको पाइन्छ, जसले मेलाको उद्देश्यलाई गौण बनाउँछ ।

निश्चित उद्देश्य राखेर जुनसुकै संस्थाले महोत्सव आयोजना गर्न सक्छन् । खेलकुद विकास समितिले विशुद्ध खेल महोत्सवमात्र गर्नुपर्ने, व्यापार महोत्सव गर्न नहुने मकवानपुर उद्योग वाणिज्य संघको तर्कलाई स्थानीय व्यवसायीको पक्षबाट हेर्दा सान्दर्भिक लागे पनि स्वभाविक मान्न सकिँदैन । व्यापार महोत्सवले स्थानीय व्यवसायीको व्यापारमा असर पुग्छ भन्ने संघको आशंका पनि व्यावसायिक प्रतिस्पर्धाको पक्षमा देखिँदैन । महोत्सवमा स्टल राखेर सामानको प्रदर्शन तथा बिक्री गरी आफ्नो व्यापार व्यवसाय प्रवद्र्धन गर्न स्थानीय व्यवसायी अग्रसर बन्नुपर्छ । खेलकुद विकास समितिले आयोजना गर्न लागेको महोत्सवमा आफ्ना सदस्यहरुलाई सहभागी गराई व्यवसाय प्रवद्र्धन गर्न सहजीकरण गर्नुपर्ने उद्योग वाणिज्य संघ मेला रोक्न अग्रसर हुनु उचित हुँदैन । आफूले महोत्सव आयोजना गर्दा राम्रो, अर्कोले आयोजना गर्दा नराम्रो हुन्छ भन्नु अनावश्यक विवाद निम्त्याउन खोज्नुमात्र हुनेछ ।