हेटौँडाः मकवानपुरको बागमती गाउँपालिकाले पालिकामा वृहत् आँखा परीक्षण शिविरको आयोजना गरेर मोतिविन्दु पहिचान भएका गाउँवासीको निशूल्क आँखाको शल्यक्रिया गराएको छ । ९ वटा वडा रहेको पालिकाले वडास्तरमा आँखा परीक्षण शिविरको आयोजना गरेको थियो । गत मंगलबारदेखि शनिबारसम्म वडा–वडामा शिविरको आयोजना गरी एक हजार आठ सय भन्दा बढीको आँखा परीक्षण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ताले जानकारी दिनुभएको छ ।
आँखा परीक्षण गरिएका मध्ये दुई सय ६८ जनाको आँखामा मोतिविन्दुको समस्या पाइएको थियो । मोतिविन्दु पहिचान भएकाहरुलाई बागमती गाउँपालिकाको मुकाम झुरझुरेमै शल्यक्रिया शिविर राखी शनिबार र आइतबार दुईदिन शल्यक्रिया गरिएको बागमती गाउँपालिका ३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रिनले जानकारी दिनुभएको छ । केही विरामीको उच्च रक्तचाप, मधुमेह जस्ता स्वास्थ्य जटिलताका कारण शल्यक्रिया हुन नपाएको बताइएको छ ।
मोतिविन्दु पहिचान भएका दुई सय एकजनाको शल्यक्रिया गरिएको छ । शिविर आयोजनाका लागि हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक एवम् स्वास्थ्यकर्मीको सहयोग रहेको थियो । गाउँपालिकाले आँखा परीक्षण शिविर तथा मोतिविन्दुको शल्यक्रिया शिविर सञ्चालनको क्रममा करिब ६ लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी दिनुभएको छ । बागमती गाउँपालिकाले नियमित आँखा परीक्षणका लागि बागमती–४, झुरझुरेमा आँखा केन्द्र समेत सञ्चालन गरेको छ । घरदेखि आँखाको शल्यक्रिया हुने स्थानसम्म विरामीलाई ल्याउन लैजान निशूल्क बस सेवा पनि सञ्चालन गरिएको थियो ।