अपाङ्गता भएका ह्वील चेयरमा र्यालीमा सहभागी ।

हेटौंडाः ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । आइतबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समिति तथा बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयको संयुक्त आयोजनामा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस हेटौंडामा मनाइएको हो ।

लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान र दिवसको अवसरमा हेटौंडामा विभिन्न कार्यक्रम गरी सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन हेटौंडाको मुख्यचोक बुद्धचोकबाट र्याली सुरु गरी मेनरोड, कपुरकम्प्लेस, शितलमहलचोक हुँदै हुप्रचौर पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा अपाङ्गतासम्बन्धी सूचना आदानप्रदान गरौं, अपाङ्गता भएको व्यक्तिहरुले अनिवार्यरुपमा परिचयपत्र लिऔं, दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गरौं, अपाङ्गतामैत्री शब्दको प्रयोग गरौं, सबै सार्वजनिक भौतिक संरचना अपाङ्गतामैत्री निर्माण गरौं, मानसिक स्वास्थ्यमा लगानी समृद्धिको सुखद् बिहानी, अपाङ्गता भएका व्यक्तिहरुलाई समान अवसर दिऔं, निःशुल्क स्वास्थ सेवा कार्यान्वयन गरौं भन्दै नारा लगाइएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव भीष्मकुमार भुसालले सम्बोधन गर्दै प्रत्येक व्यक्तिमा आफ्नो फरक क्षमता हुने भएकाले क्षमताहरुलाई बाहिर ल्याउन राज्य तथा नागरिक समाजहरुको दायित्व हुने बताउनुभयो । अपाङ्ग नागरिकहरुलाई सबल र सक्षम बनाउन सहयोग गर्नुपर्ने बताउँदै यस्ता कार्यक्रमले फरक क्षमता भएकाहरुलाई साथ सहयोग र हौसला प्रदान गर्न सहयोग गर्ने बताउनुभयो ।

मन्त्रालय अपाङ्गमैत्री क्षेत्रमा भएको समस्याहरुलाई समाधान गर्न तथा सहजीकरण गर्न तत्पर रहेको उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समिति अध्यक्ष अश्विन लम्साल, बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान, महासंघका अन्य पदाधिकारीहरु, अपाङ्गता भएका व्यक्तिहरुलगायतको उपस्थिति रहेको थियो ।