हेटौंडाः नेपाल पत्रकार महासंघको सदस्य रहेका मकवानपुर जिल्लाका पत्रकारहरुको कोरोना भाइरस तथा दुर्घटना बीमा गरिएको छ । अग्रपंक्तिमा खटिने पत्रकारको एक लाख बराबरको कोरोना बीमा र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघमा आवद्ध मकवानपुर जिल्लामा १ सय ६३ जना पत्रकार रहेका छन् । बीमा वापतको रकम हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको हो ।
मंगलबार बिहान उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष हरि हुमागाईलाई बीमा लेख हस्तान्तरण गर्नुभएको छ । बीमा लेख हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका सहसचिव धर्मेन्द्र दाहाल, कोषाध्यक्ष सुदीप शिवाकोटीका पनि सहभागिता रहेको थियो । मेयर महतले पत्रकारका लागि संस्थागत रुपमा जुनसुकै सहयोग पनि गर्न तयार रहेको बताउनुभयो । पत्रकारको बीमाका लागि हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
कोरोना बीमाले कोरोना संक्रमण पुष्टि भए उपचारका लागि एक लाख रुपैयाँ रकम प्राप्त हुनेछ भने दुर्घटना बीमामा दुर्घटनामा परेर घाइते भई उपचार गर्नुपरेमा २० हजार रुपैयाँसम्म उपचार खर्च र मृत्यु भएमा दुईलाख रुपैयाँ प्रदान गरिने बीमा कम्पनिले जनाएको छ । हेटौंडाको एभरेष्ट ईन्स्योरेन्स कम्पनि लिमिटेड मार्फत बीमा गरिएको हो । यसअघि हेटौंडा उपमहानगरपालिकाले पत्रकार महासंघ मकवानपुरले गरेको उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरपालिकाले महासंघको कार्यालयमा पुस्तकालय निर्माण गर्नका लागि सहयोग गरेको थियो ।