हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका बालबालिकालाई पर्सी जेठ २९ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका अनुसार जेठ २९ गतेदेखि असार ६ गतेसम्म नगरका विभिन्न स्थानमा रहेका खोपकेन्द्रमार्फत ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला खोप लगाइनेछ ।
कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले लकडाउन आव्हान गरेसँगै चैतमा लगाउने भनिएको दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम स्थगित भएको थियो । हेटौंडा उपमहानगरक्षेत्रका करिब ११ हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइनेछ । उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाले एउटा वडामा ३ वटादेखि ८ वटासम्म खोपकेन्द्र निर्धारण गरी खोप लगाउने जनाएको छ । हेटौंडा नगरक्षेत्रमा १०६ वटा खोप केन्द्र निर्धारण गरिएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखा प्रमुख रमन झाले जानकारी दिनुभयो ।