हेटौंडाः हेटौंडा उपमहानगरपालिका–६, चौघडा न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको साधारणसभा सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
चौघडास्थित सुनगाभा शिक्षा निकेतनको प्राङ्गणमा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्व श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्य र हेटौंडा उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको विशिष्ट आतिथ्य रहेको थियोे । सहकारी संस्थामा हाल २ करोड ५३ लाख ७८ हजार २ सय रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीले गत आर्थिक वर्षमा २६ करोड ६३ लाख ३५ हजार १ सय १७ रुपैयाँको कारोबार गरेको अध्यक्ष पौडेलले बताउनुभयो । सहकारी संस्थामा कुल शेयर सदस्य २ हजार ८ सय १३ जना रहेका छन् ।
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा ऋण शाखाकी प्रमुख रेखा पौडेललाई सम्मान गरेको छ । यस्तै, उत्कृष्ट बचतकर्ताको रुपमा संस्थाले हेमाकुमारी न्यौपाने र सोमप्रसाद रुपाखेतीलाई सम्मान गरेको छ । कार्यक्रममा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त संस्थागत विद्यालयतर्पm आदेश गौतम, सुविच्छा बानियाँ, रजिता दंगाल, विनायक दहाल, विशाल पराजुली र कृपा अधिकारीलाई नगद १५ सय र प्रमाणपत्र दिएको थियो । यस्तै, सामुदायिक विद्यालयतर्फ शान्तिकुमारी साह, अभियान देवकोटा, शिशिर दुलाल र समिर ढुङ्गानालाई १५ सय र प्रमाणपत्र दिएको हो ।
कार्यक्रमा प्रमुख अतिथि श्रेष्ठले सहकारीको आर्थिक कारोबारमा वृद्धि सदस्यले गर्ने र सहकारीलाई बचाउने दायित्व पनि सदस्यको नै हुने बताउनुभयो । सदस्य बनेर संस्थाबाट सजिलो र सस्तोमा ऋण लिन सकिने श्रेष्ठले बताउनुभयो ।