नियमित मासिक बचतकर्ताको रुपमा उत्तरबहादुर श्रेष्ठलाई सम्मान गरिँदै ।

हेटौंडाः हेटौंडा–४ स्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको शनिबार राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले उद्घाटन गनुभयो ।

साधारणसभामा संस्थाका अध्यक्ष नवराज अर्यालले संस्थाको प्रतिवेदन तथा प्रस्तावहरु प्रस्तुत गर्नुभयो । २ हजार १ सय २९ सेयर सदस्य रहेको संस्थाको ३ करोड ५८ लाख ६१ हजार ६ सय रुपैयाँ शेयर पुँजी रहेको छ । संस्थाले १४ करोड ३१ लाख ५५ हजार ४ सय ५० रुपैयाँ बचत गरेको र गत आर्थिक वर्षमा २० करोड ७९ लाख रुपैयाँ कारोबार गरेको बताइएको छ ।

साधारणसभाको अवसरमा संस्थाले जेष्ठ सदस्यको रुपमा ज्ञानप्रसाद घिमिरे, नियमित मासिक बचतकर्ताको रुपमा उत्तरबहादुर श्रेष्ठ, अधिकतम बचतकर्ता विजयाकुमारी दुलाल, ऋणमा अधिकतम ब्याज तिर्ने राजु गौतम र नियमित ऋणको किस्ता भुक्तानी गर्ने सदस्य तेजबहादुर स्याङ्बोलाई सम्मान गरेको छ । यस्तै, एसईईमा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीहरु सुजल महर्जन, रचना उप्रेती र रीना गौतमलाई सम्मान गरिएको छ ।

साधारणसभामा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला बचत संघकी उपाध्यक्ष मीना चौरेल र राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रबन्धक रामेश्वर अर्याललगायतको उपस्थिति रहेको थियो ।