जाडो मौसम सुरु भएको छ । मंसिर महिना लागेसँगै यसवर्षको जाडो सुरु भएको हो । विगतमा मंसिरको अन्त्यदेखि चिसो बढ्ने गरेकोमा यस वर्ष मंसिरको मध्यबाटै चिसो बढ्दै गएको छ । अबको करिब दुई महिना देशैभर बढ्ने चिसोले गरिब, निमुखा नेपालीले कष्टकर जीवनयापन गर्नुपर्ने निश्चित छ । भौगोलिक अवस्थितिका कारण हिमाली भागमा चिसो बढी हुने भए पनि चिसोबाट मुलुकको तराई क्षेत्र पनि उत्तिकै प्रभावित हुने गरेको छ । तराईका सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलबस्तु, बाँके आदि जिल्लामा चिसोको प्रभाव बढी पर्ने गरेको छ । पश्चिम नेपालको जाजरकोट, रुकुमलगायतका केही जिल्लामा करिब एक महिनाअघि गएको भूकम्पका कारण मानिसहरु त्रिपाल मुनि बसिरहेका कारण बढ्दो जाडोसँगै उनीहरुको जीवन कष्टकर बनिरहेको छ ।

जाडो मौसममा चिसो बढ्नु स्वभाविक हो । यस्ता प्राकृतिक परिवर्तनलाई रोक्न वा कम गर्न सकिँदैन । तर, यस्ता परिवर्तनले ल्याउने प्रभावलाई भने हामीले आफ्नो अनुकूल बनाउन सक्छौं । जाडोबाट हुने प्रभावलाई कम गर्दै यसबाट आम नागरिकको जीवनयापन सहज बनाउन आवश्यक सजगता र पूर्वतयारी हुनुपर्छ । जाडो बढ्दै जाँदा विभिन्न समस्या देखिने गरेका छन् । जाडो बढ्दै गएपछि मानिसलाई रुघाखोकीलगायत विभिन्न रोगको समस्याले सताउने गर्दछ । जाडो सुरु भएपछि हेटौंडाका अस्पतालहरुमा रुघाखोकीका बिरामीको चाप बढ्दै गएको छ । धेरैजसो चिसो बढेको अवस्थामा र मौसम परिवर्तन हुने समयमा मानिसलाई रुघाखोकीको समस्या हुने गर्दछ । हेटौंडा अस्पतालको नाक, कान, घाँटीरोग विभागमा रुघाखोकीका बिरामी बढ्नुले थप सजगता र सतर्कता अपनाउनु आवश्यक देखिएको छ । रुघाखोकीसँगै टन्सिलको समस्या हुँदा त्यसले थप समस्या निम्तने चिकित्सकहरुको भनाइ छ ।

जाडोयाममा चिसो बढेपछि त्यसबाट बच्न मानिसले अपनाउने कतिपय उपायले थप क्षति गरिरहेको पाइन्छ । जाडोयाममा बन्द कोठामा हिटर वा कोइला बालेर बस्दा अक्सिजनको कमी भई ठूलो मानिसको ज्यानै जाने गरेका थुप्रै घटना छन् । तराई क्षेत्रमा दाउरा तथा पराल बालेर न्यानो बनाउने क्रममा आगलागीका घटना हुने गरेका छन् । चिसोबाट न्यून आय भएका परिवारका ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुन्छन् । चिसोको वृद्धिसँगै मानिसको जीवन कष्टकर बन्दै जान्छ । यसकारण चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे आवश्यक सचेतना प्रदान गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ । चिसोको समयमा अनावश्यक घरबाहिर ननिस्कने, घरभित्रै न्यानो कपडा लगाएर तातो खानेकुरा खाएर बस्दा पनि यसको असरबाट बच्न सकिन्छ ।

जाडो मौसममा लाग्ने रुघाबाट बच्न व्यक्तिगत सरसफाइ, वातावरण स्वच्छतामा ध्यान दिनु आवश्यक हुन्छ । पटकपटक हात धुने, नङ नटोक्ने, प्रतिरक्षा प्रणाली बढाएमा रुघाखोकीबाट बच्न सकिन्छ । रुघा लागेमा मास्क लगाएर बस्न, आफूले छोएको ठाउँमा सरसफाइ गर्न, खोक्दा रुमालको प्रयोग गर्न, जथाभावी औषधी नखान चिकित्सकले सल्लाह दिने गरेका छन् । चिसोकै कारण कसैको पनि ज्यान जाने अवस्था आउनु हुँदैन । जाडोयाममा तातो खानेकुरा, कपडा तथा ओढ्ने ओछ्याउनेको उचित व्यवस्था हुनुपर्छ । यसका लागि तीनै तहको सरकारले उचित ध्यान दिनु आवश्यक छ । भोको पेटमा जाडेले कठ्याङग्रिनुपर्ने अवस्था कुनै नेपालीको हुनु हुँदैन । चिसोले बढी प्रभावित हुनसक्ने क्षेत्र र वर्गको पहिचान गरी उनीहरुलाई सचेतनासँगै सरकारले आवश्यक सहयोग गर्नुपर्छ । संघ, प्रदेश तथा स्थानीय तहका सरकारले आपसमा समन्वय तथा सहकार्य गरी विपन्न परिवारलाई चिसोबाट जोगाउन प्रभावकारी भूमिका निर्वाह गर्नु उचित हुनेछ ।