हेटौँडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जानुभएको छ । पाँच सदस्यीय टोलीसहित शनिबार उहाँ पाँच दिने चीन भ्रमणका लागि निस्कनुभएको हो । प्रदेश प्रमुखको भ्रमण टोलीमा प्रमुख शर्मा पत्नी उर्मिला शर्मा, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ, प्रदेश प्रमुुखको कार्यालय बागमती प्रदेशका उपसचिव गोविन्द प्रसाद पौडेल रहनुुभएको छ ।
जनवादी गणतन्त्र चीनको युनान प्रदेशबाट प्रदेश प्रमुख शर्माको नेतृत्वमा पाँच सदस्य भ्रमण टोलीलाई भ्रमणका लागि निमन्त्रण आएको प्रदेश प्रमुख शर्माको सचिवालयले जनाएको छ । भ्रमणबाट बागमती प्रदेश र जनवादी गणतन्त्र चीनका युनान प्रदेशबीच मित्रवत सम्बन्ध स्थापित भई कृषि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहयोगको वातावरण सृजना हुने अपेक्षा गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
बागमती प्रदेश प्रमुख शर्मा वैदेशिक भ्रमण चीनमा रहेकाले यस अवधिको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाउनुुभएको छ । बागमती प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेश प्रमुख गुरूङलाई दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।