हेटौँडाः हेटौँडा–१०, गोरक्षेश्वरधामस्थित संस्कृत वेद विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रामकृष्ण थापा चयन हुनुभएको छ । गत असोज २९ गते व्यवस्थापन समितिको बैठकले थापालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । गत भदौ ३ गते सम्पन्न अभिभावक भेलाले सदस्यमा अभिभावकको तर्फबाट सूर्यप्रसाद नेपाल, अंकित पुडासैनी, राधिका सुवेदी र रेती घिमिरे चयन हुनुभएको थियो ।
व्यवस्थापन समितिका सदस्यमध्ये ज्येष्ठ सदस्य सूर्यप्रसाद नेपालको अध्यक्षतामा असोज २९ गते बसेको बैठकले रामकृष्ण थापा र गीता श्रेष्ठलाई सदस्यमा मनोनित गरेको थियो । सदस्य मनोनित रामकृष्ण थापालाई नै व्यवस्थापन समितिले सर्वसम्मत अध्यक्ष चयन गरेको विद्यालयका प्रधानाध्यापक गोपाल अधिकारीले जानकारी दिनुभएको छ ।
संस्कृत वेद विद्यालयमा कक्षा ४ देखि ८ सम्म पठनपाठन हुन्छ । अघिल्लो शैक्षिक सत्रको तुलना चालु शैक्षिक सत्रमा विद्यार्थीको संख्या केही वृद्धि भएको प्रधानाध्यापक अधिकारीको भनाइ छ ।
विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएसँगै चाडपर्व परेको र अब विद्यालयको व्यवस्थापनमा सरोकारवालासँग समन्वय गरेर काम गर्ने नवनिर्वाचित अध्यक्ष रामकृष्ण थापाले बताउनुभएको छ । संस्कृत विषयप्रति समुदायको बढ्दो आकर्षणलाई सम्बोधन गर्ने गरी संस्कृत वेद विद्यालयलाई सञ्चालन तथा व्यवस्थापनमा सरोकारवाला निकायको साथ र सहयोगमा अगाडि बढ्ने अध्यक्ष थापाको भनाइ छ । विद्यालयमा प्रधानाध्यापक अधिकारी मात्रै स्थायी दरबन्दीका शिक्षक हुनुहुन्छ भने एकजना राहत दरबन्दीका शिक्षक हुनुहुन्छ । यस्तै एकजना निजी श्रोतका शिक्षक हुनुहुन्छ । संस्कृत वेद विद्यालयमा मकवानपुरसहित पर्सा, सर्लाही, झापा र कास्की जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।