हेटौँडाः सहरीया युवालाई सामाजिक र सार्वजनिक जीवनमा सक्रिय बनाउने उद्देश्यले स्थापित हेटौँडा जेसीजको नेतृत्वका लागि विकेशलाल श्रेष्ठ र अमृत बर्तौलाले उम्मेद्वारी घोषणा गर्नुभएको छ । वर्ष २०२४ मा अध्यक्ष पदका लागि विकेश र अमृतले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गर्नुभएको हो । हेटौँडा जेसीजको वर्तमान कार्यसमितिमा दुबैजना कार्यकारिणी उपाध्यक्ष हुनुहुन्छ ।
सन् २०१७ मा जेसीज प्रवेश गर्नुभएका अमृत बर्तौला २०१८ मा अन्तर जेसीज वक्तृत्वकला प्रतियोगितामा नेपाल प्रथम हुनुभयो । सन् २०१८ मै कार्यक्रम संयोजकको जिम्मेवारी सम्हाल्नुभएका बर्तौला २०१९ मा उपाध्यक्षमा निर्वाचित हुनुभयो । २०२० मा शाखा सम्पादकको जिम्मेवारी सम्हाल्नुभएका बर्तौला २०२२ मा कोषाध्यक्ष मनोनित हुनुभयो भने सन् २०२३ मा कार्यकारिणी उपाध्यक्ष निर्वाचित हुनुभयो । सबैको साथ, सहयोगमा हेटौँडा जेसीजको अध्यक्ष हुने बर्तौला बताउनुहुन्छ ।
यता सन् २०१८ मा हेटौँडा जेसीजको सदस्य हुनुभएका श्रेष्ठ सन् २०१९ मा खेलकुद संयोजक हुनुभयो । सन् २०२० मा उपाध्यक्ष निर्वाचित हुनुभएका श्रेष्ठ सन् २०२१ मा लोम लिडर रहनुभयो भने सन् २०२२ मा महासचिव मनोनित हुनुभयो । जेसीजमा रहेर आफूले युवाको पक्षमा काम गरेको उल्लेख गर्नुहुँदै श्रेष्ठले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वाससहित अध्यक्षमा निर्वाचित हुने विश्वास व्यक्त गर्नुहुन्छ ।
सन् १९७८ मा स्थापित हेटौँडा जेसीज नेपाल जेसीजमै प्रभावशाली शाखाको रुपमा रहेको छ । नयाँ नेतृत्व चयन गर्ने गरी हेटौँडा जेसीजको साधारणसभा आगामी पुस दोस्रो साता आयोजना हुनेछ । युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने जेसीजमा एक वर्षे कार्यकाल रहन्छ ।
