हेटौंडा : आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्षमा निरा शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न पुञ्जको चौधौं साधारणसभा तथा पाँचौं अधिवेशसनले शर्माको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिवमा एलिजा पुडासैनी, कोषाध्यक्षमा सम्झना अधिकारी, सहसचिवमा सरिता दाहाल र सदस्यमा रजनी पौडेल, अनु रोक्का, श्रृजना पौडेल र गोपिनी गौतम चयन हुनुभएको छ । समितिको पहिलो बैठकले थप २ जना मनोनित गरी ११ सदस्यीय समिति बनाइने बताइएको छ । साधारणसभाको अवसरमा आँचल साहित्य कला पुञ्जले मकवानपुरका साहित्यकार आरसी रिजाललाई अभिनन्दन गरेको छ । रिजालले नेपाली साहित्यको क्षेत्रमा हास्यव्यङ्ग्य लेखनमा महत्वपूर्ण योगदान दिएको भन्दै पुञ्जले रिजाललाई अभिनन्दन गरेको हो । २००९ सालमा मकवानपुरगढीमा जन्मनुभएका रिजालले २०२८ सालमा ‘कवि बन्ने लहड’ शिर्षकमा हास्यव्यङ्ग्य निबन्ध लेख्नुभएका थियो । रिजालले पहिलो पटक २०३६ मा ‘खरानीभित्रको आगो’ शीर्षकको लघुउपन्यास प्रकाशित गर्नुभएको थियो ।

रिजालका हास्यव्यङ्ग्य कृतिहरु कुकुरको पुच्छर (२०५५), कण्ठलङ्गौटि (२०५७), हाकिमको खप्पर (२०६३) फुफुफु (२०६३), भोलारामको आत्मा (अनुवादित हास्यव्यङ्ग्य) (२०६६) लगायत प्रकाशित छन् । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष रिजाल सिस्नुपानी मकवानपुर तथा बुढ्यौली साहित्य समाजका संस्थापक अध्यक्ष हुनुहुन्छ । रिजालले भैरव प्रतिभा पुरस्कार (२०५८) तथा पारिजात पुरस्कार (२०६७) लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ । अध्यापन, पत्रकारिता, तथा निजामति सेवामा रहनुभएका रिजाल अहिले पनि साहित्यको क्षेत्रमा सक्रिय रहनुभएको छ । उहाँको कृतिमा राजनितिक, सामाजिक, प्रशासनिक रुपमा तिक्ष्ण व्यङ्ग्यको प्रयोग भएको पाइन्छ ।
कार्यक्रममा पारिजात स्मृति दिवसको अवसरमा विभिन्न स्रष्टाहरुबाट रचना वाचन भएको छ । मकवानपुरका साहित्यसेवा मुक्ति गोविन्द वैद्यको प्रमुख आतिथ्य तथा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवीहरु हरिवंश भेटवाल, देवप्रसाद श्रेष्ठ लगायत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।