Home मुख्य समाचार मध्यवर्ती क्षेत्रका बासिन्दाद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

मध्यवर्ती क्षेत्रका बासिन्दाद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

बामगती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षणपत्र बुझाउँदै ।

हेटौंडाः मध्यवर्ती क्षेत्रका बासिन्दालाई प्राकृतिक स्रोत साधन सुनिश्चित गर्न बामगती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको ध्यानाकर्षण गरिएको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा मनहरी गाउँपालिका–६ का राष्ट्रिय निकुञ्ज प्रभावित समूहले प्राकृतिक स्रोत साधन उपभोगको सुनिश्चितता माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

स्थानीयले राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएका साग, सिस्नोलगायतको जङ्गली कन्दमूल संकलन तथा उपयोग/उपभोग गर्न पाउनुपर्ने माग राखेका छन् । यस्तै, खोलाको माछा मारेर जीविकोपार्जन गर्ने स्थानीय आदिवासी जनजातिहरु (बोटे, माझी, चेपाङ्ग, थारू) को परम्परागत पेशा, व्यवसाय सुचारु गर्न माछा मार्ने अनुमतिपत्र पाउनुपर्ने तथा अनुमति प्राप्त गरेकाहरुको अनुमतिपत्र नवीकरण गरिनुपर्ने माग राखेर मध्यवर्ती क्षेत्रका बासिन्दाले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

मध्यवर्ती क्षेत्रबाट स्थानीयको घर, गोठ, पौवा आदिको निर्माण र मर्मत गर्नका लागि आवश्यक काठ, दाउरा, गिटी, ढुंगा, वालुवा संकलन तथा उपभोग गर्न सहजरुपले पाउनुपर्ने, खानेपानी तथा सिंचाईको लागि निकुञ्जभित्रको पानीको मुहान तथा निकुञ्ज हुँदै बग्ने नदी, खोला, ताल/तलैयाको प्रयोग तथा उपभोग गर्न पाउनुपर्ने, मानिस र चौपाया आवतजावतको लागि निकुञ्जभित्र पर्ने बाटो बिना रोकतोक प्रयोग गर्न पाउनुपर्ने माग पनि उनीहरुले राखेका छन् । मध्यवर्ती क्षेत्र वरपरका कृषकले वन्यजन्तुबाट भएको कृषिबाली तथा चौपाया हानि–नोक्सानीको पूर्ण क्षतिपूर्ति पाउनुपर्ने, नम्बरी जग्गा र ऐलानी जग्गामा बसोबास गरेकालाई विभेदरहित ढंगले बराबरी राहत तथा क्षतिपूर्ति दिनुपर्ने माग पनि उनीहरुको छ । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई जंगली वन्यजन्तुको आक्रमणबाट क्षति भएमा २० रुपैयाँको निःशुल्क बिमा गरिदिनुपर्ने र बिमा नगरिएसम्म वन्यजन्तुको आक्रमणबाट घाइते भएमा पूर्ण उपचार र मृत्यु भएमा दश लाख राहत दिने व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् ।

स्थानीयले मध्यवर्ती क्षेत्रमा कार्यरत कर्र्मचारीहरुले आसपासका मानिसलाई धेरै दुःख दिने गरेको बताउँदै आइरहेका छन् । मध्यवर्ती क्षेत्रमा उचित सुरक्षा नअपनाउँदा विभिन्न घटना भइरहेको स्थानीयको गुनासो छ । पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बाघ, हात्ती, गैंडाजस्ता जंगली जनावरको आक्रमणबाट मानिस घाइते हुने र मर्ने क्रम बढेको छ ।

Exit mobile version