हेटौँडा : हेटौँडामा जारी छैठौँ जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको सेमिफाइनलमा समीकरण पूरा भएको छ । शुक्रबार क्वार्टरफाइनलमा खेलहरू सकिएसँगै सेमिफाइनल खेल्ने टोलीहरू टुङ्गो लागेको हो ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मकवानपुरगढीको शारदा माध्यमिक विद्यालय र राक्सिराङको सूर्योदय माध्यमिक विद्यालय खेल्ने छ । शारदा माविले हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयलाई २८–२६ र २५–१५ को सोझो सेटमा र सूर्योदय माविले हेटौँडाकै नवोदय शिशु सदनलाई २५–२३, २३–२५ र १७–१५ को सोझो हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसैगरी दोस्रो सेमिफाइनल खेलमा हेटौँडाको ज्ञानदीप शिक्षा (जिएस) निकेतनले राक्सिराङको प्रजाजागृति माध्यमिक विद्यालयसँग प्रतिस्पर्धा गर्नेछ । जिएस निकेतनले मकवानपुरगढीको भानु माध्यमिक विद्यालयलाई २५–१३ र २५–१७ को सोझो सेटमा र प्रजाजागृति माविले मकवानपुरगढीकै रूपनारायण माध्यमिक विद्यालयलाई २५–१४ र २५–१७ को सोझो सेटमा पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।
हेटौँडा–४ को शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा वडा कार्यालयको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता हेटौँडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सञ्चालन भइरहेको हो । प्रतियोगितामा जिल्लाका सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयहरुको सहभागिता रहेको छ । शुक्रबार शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा संविधान सभाका पूर्वसदस्य अनन्त पौडेलको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देल, वडासचिव रामप्रसाद गुरागाईको पनि आतिथ्य रहेको थियो ।
प्रतियोगिताको विजेता टोलीले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछ । यसैगरी सेमिफाइनमा पराजित हुने टोलीले समान ५–५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्ति विधातर्फ प्रतियोगिताको स्र्वोत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटर समान २–२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । गत वर्षको उपाधि मकवानपुरगढी गाउँपालिकाको शारदा माविले जित्दा उपविजेता जीएस निकेतन मावि भएको थियो ।
