हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरूको तथ्याङ्क संकलन कार्य सुरु गरेको छ । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी हटाउन परिपत्र गरेसँगै मकवानपुरमा पनि यो प्रक्रिया अघि बढाइएको हो ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सुरक्षा प्रबन्धसहित आवश्यक सहजीकरण गर्न निर्देशन दिएको थियो । मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय गरी जिल्लाका अतिक्रमित जग्गाको पहिचान गर्न र त्यस्ता जग्गामा रहेका संरचना हटाउने कार्ययोजना तयार पारी मन्त्रालयमा पठाउन समेत निर्देशन दिएको छ ।
मन्त्रालयको सोही परिपत्र र निर्देशनका आधारमा मकवानपुरमा अहिले तथ्याङ्क संकलनको काम भइरहेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार अहिले पहिलो चरणमा कुन–कुन ठाउँमा कति जग्गा अतिक्रमण भएको छ र कस्ता संरचना बनेका छन् भन्ने विवरण संकलन भइरहेको छ । तथ्याङ्क संकलन भएपछि मन्त्रालयबाट प्राप्त हुने थप निर्देशन र कार्ययोजना अनुसार अतिक्रमण हटाउने कार्यलाई अगाडि बढाइने उहाँले बताउनुभयो ।
