हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को शैक्षिक गुणस्तर सुधार समितिको आयोजनामा बृहत शैक्षिक महोत्सव, खेलकुद र विभिन्न शैक्षिक कार्यक्रमहरु हुने भएको छ । शुक्रबार श्रमिक माविमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष नवीन सिग्देलले कार्यक्रमहरुबारे जानकारी दिनुभएको थियो । शुक्रबार जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताबाट सुरु भएको महोत्सव जेठ १४ गते विविध कार्यक्रम गरी समापन गरिने वडाअध्यक्ष सिग्देलले बताउनुभयो ।
यसअघि २०८२ फागुन २ गते सम्पन्न भएको तेस्रो बृहत खेलकुद प्रतियोगिता पुस्कार वितरण बैशाख २७ गते हुनेछ । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा हुने कार्यक्रममा यसअघि फागुन २ गते सम्पन्न भएका नगरस्तरीय फुटबल, भलिबल, किकेट र बास्केटवल, वडास्तरीय रुपमा एथ्लेटिक्सको सबै विधा, हाजिरीजवाफ, हिज्जे, बादविवाद, निबन्ध, कविता, वक्तृत्वकला प्रतियोगिताका विजेता ३ सय ५० जनालाई पुरस्कार वितरण कार्यक्रम रहेको बताउनुभयो ।
यस्तै वडास्तरीय रुपमा कक्षा ८ को आधारभूत तह परीक्षामा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई ५ हजार नगदसहित पुरस्कृत गरिने भएको छ । वडाका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीका अभिभावकसहित विद्यार्थीहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ । यस्तै विषयगत औसत उच्च ग्रेड पोइन्ट प्राप्त गराउन सफल हुने शिक्षकहरुलाई पनि ५ हजार नगदसहित पुरस्कारको व्यवस्था गरिएको कार्यक्रममा जानकारी दिइएको छ । यस्तै ३.२ भन्दा माथिको जिपिए ल्याउने सबै विद्यार्थीलाई मेडल र प्रमाणपत्र वितरण गरिने समेत कार्यक्रममा जानकारी दिइएको छ ।
जेठ १४ गते रोयल पार्टी प्यालेसमा चौथो बृहत शैक्षिक प्रदर्शनी, चित्रकला तथा नृत्य प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । नगरस्तरीय उक्त प्रदर्शनीमा विद्यार्थीको नवप्रवर्तन सोचसहितका विज्ञान विषय समावेश गरिने आयोजकले जनाएको छ । यसप्रदर्शनीमा शिक्षक, अभिभावक र विद्यार्थी लगायत गरी करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएकोे छ । शैक्षिक प्रदर्शनीको साथै हुने प्रतियोगितामा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार, सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।
सोहि दिन ‘२० वर्षपछिको हेटौंडा’ विषयमा नगरस्तरीय चित्रकला प्रदर्शनी तथा प्रतियोगिता हुनेछ । चित्रकला प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीयलाई रु १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै राष्ट्रिय, नेपाली मौलिक तथा भाषा, संस्कृति झल्कने गरी नगरस्तरीय नृत्य प्रतियोगिता हुने र उक्त प्रतियोगितामा प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजारको पुरस्कारको व्यवस्था रहेको कार्यक्रममा जानकारी दिइएको छ । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्षामा पत्रकार सम्मेलन भएको हो ।
