Home मुख्य समाचार जमिन भाडामा लिएर खेती गर्नेलाई मकवानपुरगढीले रकम उपलब्ध गराउने

जमिन भाडामा लिएर खेती गर्नेलाई मकवानपुरगढीले रकम उपलब्ध गराउने

मकवानपुर मकवानपुरगढी गाउँपालिकाले जारी गरेको सुचना ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले जमिन भाडामा लिएर खेती गर्न चाहने कृषकलाई भाडाबापतको रकम उपलब्ध गराउने भएको छ । पालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीका अनुसार पालिकाले पहिलो पटक कृषि विकास कार्यक्रमअन्तर्गत् उक्त निर्णय गरेको हो ।

पालिकाभित्र र बाहिरका जोसुकैले बाली उत्पादन गर्नका लागि जमिन भाडामा लिन चाहेमा उक्त भाडा पालिकाले व्यहोर्ने भएको प्रमुख चौधरीले बताउनुभयो । पालिकाका विभिन्न ठाउँका जमिनहरु बाँझो हुन थालेपछि कृषकहरुलाई बाली उत्पादनसँग जोड्ने उद्देश्यले यो कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । कृषकहरुले खेती गरे पनि कहिलेकाहीँ असिना, पानी र बालीनालीमा लाग्ने रोगका कारण उत्पादन पनि घट्ने र जग्गाको भाडासमेत तिर्न नसक्ने गुनासो गरेपछि पालिकाले उक्त कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।

पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम तथा कृषि विकास कार्यक्रमअन्तर्गत् पहिलो पटकमा भाडाबापत ५ लाख रुपैयाँ बराबर भुक्तानी गर्ने उहाँले बताउनुभयो । अहिले पालिकाले २ सय ५० रोपनी क्षेत्रफल जमिनलाई उक्त रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।

वार्षिक प्रतिरोपनी २ हजार रुपैयाँका दरले भाडाबापतको रकम उपलब्ध गराउने भएको हो । पालिकाले केही दिनमै पालिकाभित्रका बाँझो जमिनहरुको तथ्याङ्क संकलन गर्ने उहाँले बताउनुभयो । पालिकाले जमिन भाडामा लिएर खेती गर्न चाहने किसानलाई कागजातसहित निवेदन दर्ता गर्न भनेको छ ।

यस्तै, अहिले भाडामा लिएर खेती गरिरहेका इच्छुक कृषक, कृषक समूह, सहकारी, कृषि फर्म, कम्पनीहरुले पुस ११ गतेसम्म निवेदन दर्ता गर्न आग्रह गरिएको छ । गाउँपालिकाभित्रका विपन्न, सिमान्तकृत, दलित, जनजातिलाई साथै बेरोजगारको सूचीमा परेकालाई विशेष प्राथमिकता दिइने पालिकाको सूचनामा उल्लेख गरिएको छ ।

Exit mobile version