Home मुख्य समाचार ६० जनाले डायलासिस सेवा प्राप्त गर्दै

६० जनाले डायलासिस सेवा प्राप्त गर्दै

हेटौंडाः हेटौंडा अस्पतालमा रहेको डायलासिस विभागबाट ६० जना मिर्गौलाका बिरामीहरुले सेवा प्राप्त गरिरहेका छन् । अस्पतालबाट १६ जना महिला र ४४ जना पुरुषले निःशुल्क डायलासिस सेवा प्राप्त गरिरहेको डायलासिस विभागकी इन्चार्ज सीमा कँडेलले जानकारी दिनुभयो ।

अस्पतालको डायलासिस विभागमा अहिले १३ वटा मेशिनमध्ये १० वटा मेशिन सञ्चालनमा रहेको छ । मिर्गौलाका बिरामीहरुले अस्पतालबाट हप्तामा दुई पटक डायलासिस सेवा प्राप्त गरिरहेका छन् । अस्पतालले बिरामीलाई बिहान र दिउँसो गरी दुई सिप्mटमा सेवा दिने गरेको कँडेलले बताउनुभयो ।

डायलासिस विभागबाट सेवा लिन ४८ जना मिर्गौलाका बिरामीहरु प्रतीक्षा गरिरहेका छन् । कँडेलका अनुसार विभागमा सिमित मेशिन र क्षमता भएकाले सबै बिरामीलाई सेवा दिन नपाएको बताउनुभयो । विभागले अहिले रिफर केसलाई समेत होल्ड गरिरहेको उहाँले बताउनुभयो ।

डायलासिस विभागमा अहिले ९ जना स्टार्पm नर्स, ४ जना कार्यालय सहयोगी र एकजना डाक्टरले सेवा प्रदान गरिरहेका छन् । विभागमा एकजना डाक्टरमात्र भएको कारणले बिरामी र स्टाफलाई गाह्रो भइरहेको उहाँले बताउनुभयो । ‘डायलासिसमा अहिले सल्लाहकार डाक्टर नभएकाले समस्या आइरहेको छ’, इन्चार्ज कँडेलले भन्नुभयो– ‘विभागमा अहिले अन्य जनशक्ति र सामानको समस्या छैन ।’

आइतबार डायलासिस गरेका मिर्गौला बिरामीहरुको बुधबार, सोमबार डायलासिस गरेका बिरामीहरुको बिहीबार र मंगलबार डायलासिस गरेका बिरामीहरुको शुक्रबार पालो राखिएको कँडेलले बताउनुभयो ।

अहिलेको सिप्mटमा बिरामीहरु मकवानपुरबाहेक बारा, पर्सा, सर्लाहीलगायत जिल्लाका समेत रहेका छन् । कँडेलका अनुसार एक बिरामीलाई डायलासिस गर्न ४ घण्टा लाग्छ भने बिरामीलाई २ जना स्टाफ नर्सले हेर्नुपर्ने हुन्छ । अहिले डायलासिस गर्न आउने बिरामीको अवस्था सामान्य रहेको कँडेलले बताउनुभयो ।

Exit mobile version