हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ मा नयाँ योजना नल्याउने भएको छ । नयाँ योजना भन्दा पनि चालु आर्थिक वर्षको योजनाहरु सम्पन्न हुनेगरी बजेट आउने गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले बताउनुभएको छ । चालु आर्थिक वर्षमा मुलुक लकडाउन भएसँगै गाउँपालिकाको आन्तरिक राजस्व कम उठ्ने भएको गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले बताउनुभयो । यस्तै कोरोना भाइरसका कारण क्वारेन्टाइन र राजस्व संकलन तर्फ गाउँपालिकाले जोड दिइरहेको उहाँको भनाइ छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ मा बजेट ल्याउने विषय महत्वपूर्ण भएपनि त्यसमा अहिले गृहकार्य सुरु नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले बताउनुभयो । अहिले पालिका राजस्व उठाउने कार्यमा तीव्रताका साथ लागेको छ । जिल्लामा ढुंगा, गिट्टी, बालुवाको विक्रिवितरण नै प्रमुख राजस्वको स्रोत हो । प्रमुख प्रशासकीय अधिकृत चौलागाईका अनुसार मनहरी गाउँपालिकाले छिट्टै बजेटसम्बन्धी कार्य सुरु गर्नेछ । हालसम्म मनहरीका सबै वडाहरुमा बजेट सिलिङ नपठाइएको उहाँले जानकारी दिनुभयो । असार १० गते पूर्ण बजेट ल्याउने भनिए तापनि हतारमा बजेट ल्याउँदा वडाका तल्लो तह गाउँ, टोलमा छलफल हुन नपाउने देखिएको छ । विकासका कामहरु बारे वडाले योजनाको छलफल गर्न पर्याप्त समय नहुने देखिएको हो ।
मनहरी गाउँपालिकालाई संघीय सरकारले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण तर्फको बजेट गत वर्षभन्दा बढाएर विनियोजन गरेको छ । गत वर्ष १२ करोड ४७ लाख वित्तीय समानीकरणतर्फ बजेट छुट्टाएको संघीय सरकारले यसपटक १२ करोड ५३ लाख छुट्टाएको छ । त्यस्तै आगामी आर्थिक वर्षको लागि सशर्त अनुदानतर्फ भने १८ करोड ४४ लाख संघले विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा कोरोना भाइरस नियन्त्रण गर्न मुलुक लकडाउन भएसँगै मनहरी गाउँपालिकाको आन्तरिक आयमा गिरावट आउने भएको छ । पालिकाले राजस्व कम उठेपनि बजेट भने गत वर्षको भन्दा नघट्ने गरी बनाउने गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले बताउनुभयो । उहाँका अनुसार अहिले कोरोनाका कारण संसार अस्तव्यस्त भएको भन्दै आगामी आर्थिक वर्षमा मनहरी गाउँपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनुभयो । आगामी वर्षमा नयाँ योजना नल्याउने तथा अतिआवश्यक योजना भएमात्र प्राथमिकतामा पर्ने उहाँले बताउनुभयो ।
आगामी वर्षको बजेटले चालु वर्षको योजना सम्पन्न गर्न सहयोग पुग्ने उहाँले जानकारी गराउनुभयो । कृषि र स्वास्थ्यलाई मध्यनजर गरेर बजेट बनाउने तयारी गर्ने उहाँले बताउनुभयो । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा भने वडाहरुलाई गत वर्षको भन्दा कम बजेट सिलिङ नपठाउने भएको छ । त्यस्तै अब गाउँपालिकाको राजस्व समितिको बैठक बस्ने र कार्यपालिकाको बैठक बसेर बजेटको कार्यलाई अगाडि बढाउने तयारी रहेको विष्टले बताउनुभयो ।