हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामालाई ज्ञापनपत्र बुझाइँदै ।

हेटौंडाः कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परी विदेशमा रोजगारी गुमाएर फर्कनेहरुलाई सौन्दर्यकर्म सम्बन्धी तालिम दिएर सीप विकास गनृ राष्ट्रिय सौन्दर्यकर्मी यूनियन हेटौंडा उपमहानगर समितिले हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । आइतबार ज्ञापनपत्र बुझाउँदै सैलुन व्यवसायमा भारतीयले करोडौं रकम लगिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई नै सीपयुक्त बनाई रोजगारीको अवसर सिर्जना गर्न उपमहानगरपालिकालाई अपील गरिएको छ ।

सौन्दर्यकर्मीको विषयमा विद्यालयको पाठ्यक्रममै समावेश गर्न, प्रविधि सहयोग कार्यक्रममा सौन्दर्यकर्मीलाई पनि सहभागी गराउन, लकडाउनबाट पीडित सौन्दर्यकर्मीलाई नवीकरण छुट दिन पनि सौन्दर्यकर्मी युनियनले माग गरेको छ । सौन्दर्यकर्मी युनियन हेटौंडा उपमहानगर समितिकी अध्यक्ष सजिता केसी र सचिव भगवती श्रेष्ठको संयुक्त हस्ताक्षर रहेको ज्ञापनपत्र आइतबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामालाई हस्तान्तरण गरिएको थियो ।