हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३, घट्टेपाखाकी सम्झना प्रजाको गत कार्तिक ४ गते चितवन जिल्लास्थित भरतपुर अस्पतालमा मृत्यु भयो । २२ वर्षीया सम्झनाले तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएको २ महिना पनि नहुँदै सम्झनाको मृत्यु भएको हो । गत भदौ ११ गते भरतपुर अस्पतालमै तेस्रो सन्तानको रुपमा सम्झनाले छोरी जन्माएकी थिइन् ।
१२ वर्षमै विवाह गरेकी सम्झनाले १४ वर्षको उमेरमै पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिइन् । दोस्रो सन्तानको रुपमा १७ वर्षमै छोरा जन्माएकी सम्झनाले तेस्रो सन्तान गर्भमा रहेकै बेला स्वास्थ्य समस्या झेल्दै आएकी थिइन् । सम्झनासँग विवाह गर्दा १६ वर्षे रामप्रसाद चेपाङ यतिबेला पत्नीशोकमा छन् । मनहरी खोलामा बालुवा चालेर गुजारा गर्ने प्रजा नवजात शिशुसहित ३ सन्तानको स्याहारसुसार कसरी गर्ने भन्ने चिन्तामा छन् ।
गैरसरकारी संस्थामा सामाजिक परिचालकको काम गर्ने थापा बहादुर दोङले सम्झनाका सन्तानको दुख देखेर सहयोगका लागि आग्रह गरेपछि सोमबार हेटौँडाबाट एक समूहले रामप्रसादको घरमै पुगेर नवजात शिशुका लागि पोषण, न्यानो कपडा लगायत खाद्यान्न सामग्री सहयोग गरेका छन् । मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुरकी अध्यक्ष आरती पाठकसहितको पदाधिकारी घट्टेपाखा पुगेर सहयोग गरेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिकामा अल्पसंख्यक चेपाङ जातिमा बालविवाह, मातृशिशु मृत्युको उच्च जोखिम छ ।