केही समयदेखि हामीले स्थानीय सरकार अर्थात हेटौँडा उपमहानगरपालिकालाई कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्न भनिरहेका छौं । कार्यपालिका बैठकको निर्णय सार्वजनिक हुनुपर्ने विषयमा हामीले गरिरहेको आग्रहलाई आम नागरिकले सकारात्मक भएको प्रतिक्रिया जनाइरहेका छन् भने केही हामीसँग रुष्ट पनि छन् । पूर्वाग्रह राखेर कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न दबाब दिइरहेको भन्दै गलत व्याख्या गर्नेहरु पनि नभएका होइनन् । तर, हाम्रो बुझाई जनप्रतिनिधिले गरेका हरेक निर्णयलाई सार्वजनिक गर्नुपर्ने जनप्रतिनिधिको दायित्व हो । जनप्रतिनिधिका काम, कारवाही जनताको पक्षमा हुनुपर्छ । तसर्थ जनप्रतिनिधिका निर्णय जनताको पक्षमा भयो, भएन भनेर जान्न पनि निर्णय सार्वजनिक हुनुपर्छ ।

कार्यपालिका बैठकको निर्णय प्रक्रिया पनि आश्चर्यजनक रहेको पाइएको छ । निर्णयको माइन्युट प्रमाणित नगरप्रमुखले गर्ने भएकोले बैठकका निर्णयहरु बैठकपछि लेखिने र त्यसलाई नगरप्रमुखले प्रमाणित गर्ने क्रममा बैठकमा छलफल र निर्णय भएका भन्दा बाहेकका विषय पनि समावेश गरेर निर्णय लेखिने गरेको दावी कार्यपालिका सदस्य एवम् वडाअध्यक्षहरुले गरेका छन् । यदि कार्यपालिका सदस्यले भनेका यस्ता प्रवृत्ति छन् भने यसले अझ गम्भीर त्रुटी भइरहेको मान्न सकिन्छ । सार्वजनिकरुपमा स्वभाविक विषयमा सञ्चार माध्यममा पैरवी भइरहनु, कार्यपालिका सदस्यले नै गलत अभ्यास भइरहेको खुलासा गर्नु र अझै कार्यपालिका बैठकका निर्णय सार्वजनिक नगरिनुले कार्यपालिका बैठकमा प्रसस्त वेथिति रहेको स्पष्ट हुन्छ ।

स्थानीय सरकार नागरिकको नजिकको सरकार हो । नजिकको सरकारले गरेका निर्णय नै थाहा पाउन नपाउने जनताले यो प्रणालीको कसरी विश्वास गरोस् ? जनमतबाटै निर्वाचित भनिएकाहरुले जनविश्वासलाई यसरी बेवास्ता गर्दै जाने हो भने यो प्रणालीप्रति नै जनविश्वास गुम्नेछ । स्थानीय भनिएको सरकारकै यस्तो प्रवृत्तिकै कारण आजको विद्यमान व्यवस्थाप्रति निरन्तर आलोचना भइरहेको छ । हेटौँडा उपमहानगरपालिकाको सन्दर्भमा कार्यपालिका बैठक एउटा उदाहरण मात्रै हो । नियमित कार्यसम्पादनको विषयमा जनप्रतिनिधिहरुको ध्यान जान सकेको छैन । पालिकाका प्रमुख र उपप्रमुखबीचको असमझदारी, नगरप्रमुखको नेतृत्वदायी भूमिका नहुनुले सिंगो नगरकै भविष्य कमजोर हुने जोखिम छ ।

स्थानीय सरकारले गरिरहेको कामका विषयमा राजनीतिक दलहरुले पनि गम्भीर बेवास्ता गरिरहेका छन् । सत्तारुढ या प्रतिपक्षी जुन भूमिका छ त्यही भूमिका निर्वाह गर्नतर्फ दलहरु जिम्मेवार हुनुपर्छ । स्थानीय सरकारका विषयमा उठिरहेका यावत विषयमा राजनीतिक दलहरुले ध्यान दिन सकेको छैन । कतिपय अवस्थामा दलका नेताहरुले हामीले के भन्नु र ? भन्ने तर्क पनि गरिरहेको पाउँछौं । दलका नेताले आफ्नो दल नेतृत्वमा स्थानीय सरकार भए प्रभावकारी काम गर्न, गराउन पालिकाका नेतृत्वलाई जिम्मेवार बनाउनु पर्दछ भने प्रतिपक्षी भूमिकामा भए पालिकाका नेतृत्वले सही काम गरे नगरेको खबरदारी गर्नु जरुरी छ । जनताको नजिकको सरकारलाई जिम्मेवार बनाएर प्रदेश र संघीय सरकारको समेत सहयोगमा आआफ्नो पालिकाको समग्र विकासमा क्रियाशील हुनुपर्ने जिम्मेवारीविपरित आफ्ना निर्णय नै सार्वजनिक गर्न नचाहने अविवेकी स्थानीय सरकारको चरित्रमा सुधारका लागि हामी सञ्चार माध्यम मात्रै नभएर हरेक नागरिक र राजनीतिक दलले पनि जनप्रतिनिधिलाई हरेक निर्णयको विस्तृत विवरण सार्वजनिक गर्न दबाब दिनु आवश्यक छ ।