भत्काउन सजिलो हुन्छ, बनाउन गाह्रो । तर पनि संसारमा भत्केको भन्दा बनेका धेरै देखिन्छ, सभ्यता अगाडि बढेका छन किनकी औसतमा मान्छेको मनभित्र विकास गरौं, अगाडि बढौं, मेरा छोराछोरीको भविष्य राम्रो बनाउँ भन्ने हुटहुटी हुन्छ ।

फोटोमा देखिएको चितवन जिल्लाको रत्ननगर नगरपालिकास्थित सरकारी अस्पताल हो । अहिले बाहिर सुन्दर फूल लगाउने काम हुन लागेको छ । भित्र बिरामी बस्ने स्विजरल्यान्डमा बनेका बिस्तरा छन् । छेउमा डायलासिस गर्ने सानो सेन्टर छ जुन पूर्ण रुपमा सोलार हो । पानी खान अमेरिकातिर जस्तो औंलाले दबाएर पानी आउने धारो छ । शौचालयबाट बाहिर निस्कँदा च्याप–च्याप हुँदैन किनकी चर्पी पनि अत्यन्त व्यवस्थित छ । विकास एक्लै गरेर हुँदैन भन्ने उदाहरण यो अस्पताल हो ।
एक स्विस संस्था ‘शान्ति मेड नेपाल’लाई त्यो अस्पतालमा लैजान अहिलेका मेयर नारायण बन दाई लगायत सबै स्थानीयको सक्रिय भूमिका रह्यो । देवेन्द्र श्रेष्ठ लगायत सबै दलका व्यक्तिहरु भएको संचालक समिति बन्यो । देवेन्द्रले स्विस संस्थासँग मिलेर काम गरे र अस्पताल बनाउने, विदेशीहरुसँग समन्वय गर्ने, डाक्टरहरु ल्याउन केन्द्रिय भूमिका खेले । त्यसपछि डायलासिस केन्द्रमा सोलार पावर ल्याउन डा. स्वर्णिम वाग्लेले एइपीसीमा समन्वय गर्नुभयो र रामप्रसाद धिताल लगायतका मित्रहरुले सहयोग गर्नुभयो । त्यहाँ २ नम्बर प्रदेशका जिल्लादेखि निशुल्क डायलसिस गर्न मानिसहरु विहान आउँछन् र कोही त बेलुकी फर्कन्छन् ।
सांसद सुरेन्द्र पाण्डेले पनि अस्पतालको सुन्दरता कायम गर्नको लागि २० लाख सरकारी रकम ल्याउन सहयोग गर्नुभयो र पर्दा धेरै बाधा फुकाउन मद्दत गर्नुभयो । त्यो विकसित देशमा देखिने जस्तो फाउन्टेन धारा रत्ननगरस्थित गैरसरकारी संस्था सीआरसीको पहलमा हङकङको ‘अ ड्रप अफ लाइफ’ ले सहयोग गरेको हो । त्यस्तै रोटरीले डायलसिस केन्द्रलाई सहयोग गरेको छ ।
अस्पताल भनेको जनशक्ति पनि हो । त्यहाँका अहिलेका मेसु महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका उत्पादन र पहिलेका एसएलसी बोर्ड फस्ट हुन् । सानो ठाउँमा गएर बस्ने उनको प्रतिवद्धता दूर्लभ छ । त्यस्तै अरु स्वास्थ्यकर्मी र स्थानीयले त्यो अस्पताल बनाएका छन् । त्यो अस्पतालको ठुलो लक्ष्य छैन । स्थानीयलाई अप्ठेरो हुँदा जान मिलोस, जरुरी प्रसुती सेवा मिलोस, आकस्मिक सेवा मिलोस भन्ने हो । धेरै अप्ठेरो भए जान नजिकैको भरतपुर वा काठमाडौं छँदैछ ।
तर यो बन्न त्यति सजिलो थिएन । उदाहरणको लागि शान्ति मेड नेपाल संस्था नजिकै अर्को ठाउँमा हुँदा उनीहरुलाई धेरै दुःख दिएकोले नेपालमा काम गर्न सकिँदैन भनेर स्विट्जरल्याण्ड फर्कन लागेका थिए । कर्मचारीलाई अनाहक दुःख दिएर झण्डै जेल पठाइएको थियो । दुःख दिने व्यक्तिहरुले पावर देखाउने, विभिन्न माग गर्ने र नदिए यो विदेशी यहाँ हिरो हुन खोज्ने भन्ने खालका कुरा गरेका थिए । ति संचालक एक वृद्ध स्विस डाक्टर थिइन् । तत्कालिन अस्पताल संचालक समितिका जानी अहमद, देबेन्द्र श्रेष्ठ लगायतका साथीहरुले त्यसपछि उनीहरुलाई रत्ननगर अस्पतालमा आउन आमन्त्रण गर्नुभयो ।
त्यस्तै मेयर बनले संचालक समिति भताभूंग गर्नुभएन । अस्पतालमा राजनीति गर्न दिनुभएन । एकजना मात्र स्थानीयले चाहेको भएपनि यो परियोजना भाँडिन्थ्यो । जस्तो, कसैले गएर ति वृद्धालाई जागिर दिइनस् भने पिट्छु भनेको वा पिटेको भए तिनी फर्कन्थिन् । मेयरले, डाक्टरहरुले, संचालक समितिका व्यक्तिले, सांसदले सबैले भाँड्न सक्ने स्थिति हुन्छ ।
भत्काउन सजिलो हुन्छ, बनाउन गाह्रो । तर पनि संसारमा भत्केको भन्दा बनेका धेरै देखिन्छ, सभ्यता अगाडि बढेका छन् किनकी औसतमा मान्छेको मनभित्र विकास गरौं, अगाडि बढौं, मेरा छोराछोरिको भविष्य राम्रो बनाउँ भन्ने हुटहुटी हुन्छ । उक्त अस्पतालमा अहिले दिनको चार सयदेखि पाँच सय सर्वसाधारण उपचारका लागि आउने गरेका छन् ।
(लेखक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव हुनुहुन्छ ।)