हेटौँडाः “स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल” भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै नेपालको पूर्वी नाका मेचीबाट निस्किएको साइकलयात्री बुधबार बिहान नारायणगढतर्फ प्रस्थान गरेको छ । साइकलयात्री टोली मंगलबार साँझ हेटौँडा आइपुगेका थिए । हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा १३ सदस्यीय साइकलयात्रीको समूहलाई हिमालयन राईडर्स सोसाइटीले मंगलबार साँझ हेटौँडामा स्वागत सम्मान गरेको छ ।
मकवानपुरको सीमाक्षेत्र चुरियामाईदेखि स्कर्टिङ गरेर हेटौँडाको बुद्धचोकमा साइकलयात्रीलाई स्वागत तथा सम्मान गरिएको थियो । हिमालयन राईडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राम श्रेष्ठसहित सोसाइटीका सदस्यहरुले साइकलयात्रीलाई स्वागत, सम्मान गरेका हुन् । साइकल यात्रामा हेटौँडाका ११ जना र बुटवलका २ गरी १३ जना रहेका छन् । मेचीबाट गत शनिबार यात्रा सुरु गरेका साइकलयात्री महाकालीसम्मको यात्रा तय गर्ने छ ।
चेतनाथ आचार्य साइकलयात्रामा सहभागीमध्ये जेष्ठ सदस्य हुनुहुन्छ । आगामी दिनमा निर्माण गरिने सार्वजनिक यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ, अपाङ्गमैत्री लेन समावेश गर्न पनि सरकारलाई ध्यानाकर्षण गराउनु यात्राको उद्देश्य रहेको साइकलयात्री चेतनाथ आचार्यले बताउनुभएको छ । मेचीबाट हेटौँडासम्मको यात्रा सहजै सम्पन्न भएको र बाँकी यात्रा पनि सहजरुपमा सम्पन्न हुने उहाँको भनाइ छ ।
साइकलयात्री समूहमा हेटौँडाबाट लक्ष्मीचरण श्रेष्ठ, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, विकास बानियाँ, सीता श्रेष्ठ र दुर्गाप्रसाद लामिछाने हुनुहुन्छ बुटवलबाट सुशील चौधरी र सुरज खत्री सहभागी हुनुहुन्छ । साइकलयात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची–महाकाली साइकल यात्रा गर्दैहुनुहुन्छ ।
२०५४ माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेची–महाकाली यात्रा गरेका थिए । भिजिट नेपाल १९९८ को अवसरमा हेटौंडाको सहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि व्यक्तिगत खर्चमा साइकलयात्रा गरिएको भानुभक्त आचार्यले जानकारी दिनुभयो । १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने उनीहरुले बताएका छन् ।