trophy

हेटौँडाः एकदिवसीय पुरुष विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सोमबार श्रीलंका र अफगानिस्तानबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । खेल भारतको पुनेमा हुनेछ ।

दुबै टिमले समान ५ खेल खेलेको छ भने समान २ जित निकाल्दै ४ अंक जोडेको छ । रनरेटका आधारमा श्रीलंका पाँचौं स्थानमा छ । १० टिम सहभागी विश्वकपमा अफगानिस्तान सातौं स्थानमा छ । सुरुवाती तीन खेल गुमाएको श्रीलंका पछिल्लो दुई खेल आफ्नो पक्षमा पार्दै लयमा फर्कने प्रयासमा छ भने अफगानिस्तान पहिलो दुई खेलमा हार व्यहोर्दै तेस्रो खेलमा जित दर्ता गरेको थियो । चौथो खेलमा हार व्यहोरेको अफगानिस्तान पाँचौं खेलमा भने विजयी भएको छ ।

श्रीलंका पहिलो खेलमा साउथ अफ्रिकासँग १०२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेटले र तेस्रो खेलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । चौथो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको श्रीलंकाले पाँचौ खेलमा साविक विजेता इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।

यता अफगानिस्तान भने पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भारतसँग ८ विकेटले पराजित भएको अफगानिस्तान तेस्रो खेलमा साविक विजेता इंग्ल्याण्डलाई ६९ रनले हराउँदै सनसनी मच्चाएको थियो । चौथो खेलमा न्यूजिल्द्ययाण्डसँग १४९ रनले पराजित भएको अफगानिस्तानले पाँचौं खेलमा पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । आजको खेलमा दुबैले जित निकाल्दै सेमीफाइनल प्रवेशको सम्भावनालाई मजबुद बनाउने प्रयासमा हुनेछ ।

आयोजक भारत अपराजित रहँदै ६ खेलमा १२ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । यस्तै दोस्रो स्थानमा दक्षिण अफ्रिका १० अंकसहित रहँदा समान ८ अंक भएको न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ । साविक विजेता इंग्ल्याण्ड तालिकाको पुछारमा छ ।