हेटौँडाः मकवानपुरगढीमा जारी रनिङ सिल्ड फुटसलको उपाधिका लागि गढी स्टार क्लब र प्रतिभा युवा क्लब भिड्ने भएको छ । फाइनल खेल मकवानपुरगढी–३ स्थित भानु मिनीपिचमा शुक्रबार हुनेछ । तेस्रो स्थानका लागि कालीखोला स्पोर्टस् क्लब र सेर्गेगुम्बा स्पोर्टस् क्लब बीच शुक्रबार बिहानै प्रतिस्पर्धा हुनेछ ।
गढी स्टार क्लबको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा छैठौं संस्करणको गाउँपालिकास्तरीय रनिङ सिल्ड फुटसल प्रतियोगिता भइरहेको छ । बिहीबार भएको पहिलो सेमिफाइलमा गढी स्टार क्लबले कालिखोला स्पोर्टस् क्लबलाई टाईब्रेकरमा ३–१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा २–२ गोलको बराबरीपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । दोस्रो खेलमा प्रतिभा युवा क्लबले सेर्गे गुम्बा क्लबलाई ५–० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।