करिब एक महिनाभित्र मनाइने बडादशैं, तिहार र छठ पर्वको समयमा देशका सबैजसो क्षेत्रमा मानिसहरुको चहलपहल अत्याधिक हुने गर्दछ । घरबाट टाढा रहेका मानिसहरु यी चाडपर्वमा घर आउने जाने गर्दछन् । दशैंमा आफन्तकहाँ टीका लगाउन जानेहरु पनि उत्तिकै हुन्छन् । तिहारमा दाजुभाइ दिदीबहिनीकहाँ वा दिदीबहिनी दाजुभाइकहाँ टीका लगाउन जाने गर्दछन् । यही समयमा विभिन्न शैक्षिक संस्था, सामाजिक संघसंस्थाको अध्ययन अवलोकन भ्रमण हुने गर्दछ । पारिवारिक र साथीभाइसँग घुमघाम गर्ने क्रम पनि यस समयमा बढी नै हुने गर्दछ । चाडपर्वमा मानिसको आवतजावत बढी हुने भएका कारण यात्रुवाहक सार्वजनिक सवारी व्यवस्थापन सहज हुन सक्दैन । सवारी साधनहरुले यात्रुसँग बढी भाडा उठाउने क्रम यस समय व्यापक हुने गरेको जनगुनासो आउने गर्दछ । सवारी साधनहरुले क्षमताभन्दा बढी यात्रु बोक्ने र तिब्र गतिमा सवारी चलाउने कारण दुर्घटनाको जोखिम पनि बढी हुने गर्दछ । प्रहरी प्रशासनले दशैं तिहारजस्ता चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरण तथा व्यवस्थापनका लागि विशेष योजना सञ्चालन गर्ने गरेको भए पनि पूर्ण प्रभावकारी बन्न सकेको छैन ।

अघिपछिको तुलनामा चाडपर्वको बेला विभिन्न अपराध एवम् सवारी दुर्घटनाका घटनामा वृद्धि हुने गरेको विगतका तथ्याङ्कले पुष्टि गर्दछ । चाडबाडको समयमा हुने सवारी दुर्घटना र आपराधिक घटना कम गर्न प्रहरीले विशेष रणनीति तथा योजना बनाउने गरेको छ । दशैं–तिहारमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन मकवानपुर प्रहरीले विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको छ । अन्य समयमा भन्दा प्रहरी गस्ती बढाइएको छ । प्रहरीले सचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । आपराधिक क्रियाकलाप कम गर्न तालिमप्राप्त कुकुरसहित राजमार्गमा चेकजाँच सुरु भइसकेको छ । पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि टाइमकार्ड लागू गरेको छ । चाडपर्वलाई लक्षित गरेर राजमार्गमा सुरक्षा जाँच र गस्ती बढाएको छ । यति हुँदा पनि दशैं–तिहारको करिब एक महिना अवधिमा सडक दुर्घटनाको सम्भावना उत्तिकै रहने गर्दछ ।

यस वर्षको बडादशैं सुरु भइसकेको छ । दशैं सुरु भएपछि मकवानपुर जिल्लामा अहिलेसम्म ठूलो अप्रिय घटना नभए पनि सचेत हुनु आवश्यक छ । सवारी चाप अत्यधिक रहेको पूर्व–पश्चिम राजमार्ग र काठमाडौं–कुलेखानी–हेटौंडा सडकमा दुर्घटनाको जोखिम बढी रहन्छ । पूर्वपश्चिम राजमार्ग साँघुरो भए पनि सडकको अवस्था सन्तोषजनक नै छ । हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने बाटोको अवस्था भने सबैतिर एकनासको छैन । भैंसे–भीमफेदी सडकखण्डमा वर्षौंदेखि चलिरहेको विस्तारको काम सकिएको छैन । कुलेखानीबाट चित्लाङ, चखेल, हुमाने र सिस्नेरी हुँदै काठमाडौं जाने चारवटा वैकल्पिक बाटोहरुको अवस्था पनि सन्तोषजनक छैन । यी बाटोहरुमा पनि विस्तार र मर्मतको क्रम चलिरहेकाले सवारी सञ्चालन जोखिमपूर्ण भइरहेको छ । साथै, काठमाडौंबाट बाहिरिने यात्रुहरुको अत्यधिक चाप हुने भएकाले कुलेखानी भई सञ्चालन हुने सुमोहरुले यात्रुसँग बढी भाडा लिने गुनासो विगतका वर्षहरुमा धेरै आउने गरेको तथ्यलाई बिर्सनु हुँदैन ।

चाडपर्वको बेलामा बढ्ने यात्रु चाप बढी हुने कारण क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी साधन दिनरात चलाउने र गति तिब्र हुने कारण दुर्घटनाको सम्भावना बढ्ने गरेको पाइन्छ । चाडपर्वको समयमा सरकारले यात्रुबाहक सवारी साधनका लागि रुट परमिट लिनु नपर्ने व्यवस्था गरिएका कारण पनि बाटोको राम्रो ज्ञान नभएको क्षेत्रमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढी हुने गर्दछ । चाडपर्वलाई सुखद् र रमाइलो बनाउन सडक सवारी दुर्घटना नियन्त्रण गर्न विशेष चनाखो बन्नु आवश्यक देखिन्छ । चालकको लापरबाही र जनचेतनाको कमी दुर्घटनाको अहम् कारण मानिए पनि लापरबाही गर्नेलाई रोक्ने निकायको भरपर्दो उपस्थिति नहुनुले दुर्घटना बढाएको तथ्य नकार्न सकिँदैन । सवारी दुर्घटना पूर्णरुपले नियन्त्रण नभए पनि न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरालाई स्वीकार गर्दै बढी दुर्घटना हुने कारण र क्षेत्र पहिचान गरेर त्यस्ता स्थानमा आवश्यक विशेष व्यवस्था अपनाउन सके दुर्घटना टार्न या कम गर्न सकिन्छ ।