हेटौंडा–४, स्कूलरोडमा आज दिउँसो खुल्ला रहेको मोवाइल पसल ।

हेटौंडाः कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न भनेर सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउन घोषणाले सरकारदेखि आम नागरिक प्रभावित छ । अढाई महिनाभन्दा बढी समयदेखि लकडाउन जारी रहेको भन्दै अत्यावश्यक वस्तु वा सेवा क्षेत्र मात्रै सुचारु राख्ने संघीय सरकारको निर्णय छ । तर, व्यवसायीलाई निक्कै मर्का पर्यो, गाह्रो भयो भनिएपछि स्थानीय प्रशासनले अत्यन्त जोखिम मोलेर, आम नागरिकको विरोध सहेर भए पनि अनौपचारिक रुपमा बिहानको समयमा सबैखाले पसल सुचारु गर्न सहमति जनाएको छ ।

विरोध र जोखिमका बाबजुद बिहानका लागि मात्रै पसल सुचारु गर्न भने पनि व्यापारीले स्थानीय प्रशासनलाई हेपेर दिनभर मोवाइल पसल खुला राखेका छन् । हेटौंडा–४, स्कूलरोडस्थित न्यू राहुल मोवाइल, मास्टर मोवाइल, नमस्ते मोवाइल सेन्टर, हेटौंडा–४, पारिजातपथस्थित सामसङको बोर्ड भएको मोवाइल पसल पनि खुला छ ।

मोवाइल एसोसिएसन मकवानपुरका अध्यक्ष एसिस रिजालले व्यवसायी साथीहरुलाई भने पनि नमानेको बताउनुभयो । मकवानपुर प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने प्रहरीलाई भनेर तुरुन्त बन्द गराउने बताउनुभएको छ ।