हेटौंडाः हरियाली सहरको परिचय बनाएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मीनाकुमारी लामाले विश्व वातावरण दिवसको अवसरमा आज हेटौंडा नगरको सडकपेटीमा राखिएको गमलामा वृक्षरोपण गर्नुभएको छ । हेटौंडा–२, नगरपालिकारोडको सडकपेटीमा राखिएको गमलामा बिरुपा रोपिएको हो ।
उपमहानगरपालिकाले पेटीसहितको सडक निर्माण गर्नु साथै सडक पेटीमा पैदलयात्रीलाई असहज नहुने गरी गमलामा नगरको सौन्दर्य अभिवृद्धि गर्ने प्रकृतिका फूल तथा फलफुलका बिरुवा लगाउने गरेको छ । नगरपालिकारोडमा लगाइएको आँपका बिरुवामा यस वर्षदेखि फल समेत लागेको छ । उपमहानगरपालिकाले नगरको बजारक्षेत्रका सडक निर्माण गर्ने क्रममै सडकपेटी र फलफुलका बिरुवा लगाउने क्यारी बनाउने गरेको छ । क्यारी बनाउन सम्भव नभएका क्षेत्रमा साना–ठूला गमला राखेर फलफुलका बिरुवा लगाउने गरेको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखाका केशवप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाको मुख्य बजारक्षेत्र स्कूलरोड, राप्तीरोड, मानसचोक, मृगस्थलीपथमा गमला राखिएको छ भने अन्य अधिकांश सडकमा क्यारी बनाएर फलफुलका बिरुवा लगाइएको छ । फलफुलका बिरुवाको हेरचाह, गोडमेल गर्न ४ जना मालीसहित १० जनालाई उपमहानगरपालिकाले ज्यालादारीमा खटाएको छ ।