Home खेलकुद विद्यालयस्तरीय फुटबल प्रतियोगिताः वंशगोपाल, निर्मल र महेन्द्र मावि अन्तिम ८ मा

विद्यालयस्तरीय फुटबल प्रतियोगिताः वंशगोपाल, निर्मल र महेन्द्र मावि अन्तिम ८ मा

हेटौँडाः हेटौँडा–६ स्थित गौरिटार रंगशालामा जारी स्व. कृष्णप्रसाद दहाल स्मृति एन्फा यु–१६ विद्यालयस्तरीय फुटबल प्रतियोगितामा हेटौँडा–६ स्थित वंशगोपाल मावि, हेटौँडा–१३ स्थित महेन्द्र मावि र हेटौँडा–१९ स्थित निर्मल मावि अन्तिम ८ मा पुगेको छ । मंगलबार दिउँसो भएको खेलमा वंशगोपाल माविले हेटौँडा–८, कमानेस्थित माउण्ट एभरेष्ट इंग्लिस स्कूललाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो ।

वंशगोपालका लागि रोशन घिसिङले ४३ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल साइरस घलानले ५८ औं मिनेटमा गरे भने सन्देश चौलागाईले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरे । सन्देश म्यान अफ द म्याच समेत घोषित भए । यसअघि मंगलबार बिहान भएको पहिलो खेलमा हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माविले बागमती गाउँपालिकाको देवकी माविलाई सडेन डेथमा पराजित गर्यो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो ।

देवकी माविका लागि लक्ष्मण थिङले चौथो मिनेटमै गोल गरेर अग्रता दिलाए पनि निर्मल माविका लागि रोज मोक्तानले २२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेलको निर्णयका लागि सडन डेथमा जान बाध्य भएको थियो । सडेन डेथमा निर्मल मावि ५–४ ले विजयी भएको हो । म्यान अफ द म्याच निर्मल माविका गोलरक्षक अमित स्याङ्तान घोषित भए ।

मंगलबार बिहान भएको दोस्रो खेलमा हेटौँडा–१३, पदमपोखरीस्थित महेन्द्र मावि विजयी भएको छ । महेन्द्र माविले हेटौँडा–४ स्थित भुटनदेवी माविलाई ३–० गोलअन्तरले पराजित गरेको हो । महेन्द्र माविका लागि एनोस गोम्जाले १९ औं मिनेटमा, युवराज वाईबाले ५२ औं मिनेटमा, सम्मान मुक्तानले ५८ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए । म्यान अफ द म्याच एनोस गोम्जा घोषित भए ।

मंगलबारको चौथो खेलमा बालज्योति र सिद्धार्थ शिशु सदन माविबीच भइरहेको छ । सेमीफाइनल प्रवेशका लागि निर्मल माविले महेन्द्र माविसँग बिहिबार खेल्नेछ । प्रतियोगितामा मकवानपुर जिल्लाका २९ वटा विद्यालयको सहभागिता रहेको छ । आगामी शनिबार फाइनल खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार प्राप्त गर्नेछन् ।

Exit mobile version