हेटौंडा : २०१६ सालमा स्थापित हेटौंडा–१३ स्थित महेन्द्र माध्यमिक विद्यालय जिल्लाकै सबैभन्दा पुरानो विद्यालयहरु मध्येमा पर्दछ । स्थापनाको ६६ औं वर्ष पुरा गर्दा पनि अपवाद्का वर्ष बाहेक यस विद्यालयले खासै आफ्नो पहिचान बनाउन सकेको छैन । विद्यालयको गुणस्तरमा खासै अभिभावकहरुले ध्यान नदिइकनै आफ्ना बालबालिका स्वतः पठाउने गर्दथे । किनकी केही समय अघिसम्म विद्यालयहरुबीच प्रतिस्पर्धा भन्ने सोँच नै आएको थिएन । त्यसमाथि यो विद्यालय बजार क्षेत्रबाट टाढा ग्रामीण क्षेत्रमा स्थापित भएकोले विद्यार्थीको कमि पनि थिएन, विशेष विद्यालयको पहिचान पनि बन्न सकेन । तर केही समययता स्थानीय रुपमा निजी विद्यालयको स्थापना र सञ्चालन तथा सामुदाियक विद्यालयबीच भएको प्रतिस्पर्धात्मक वातावरण बन्दै गएपछि यो विद्यालय पनि आफ्नो पहिचान जोगाउन संघर्ष गर्दैछ ।
यस विद्यालयबाट अघिल्लो वर्ष १ सय ४६ जना विद्यार्थी विद्यालय शिक्षा परीक्षा (एसइइ) मा सामेल भएका थिए । तर परीक्षामा ३३ जना मात्रै उत्तीर्ण हुन सफल भएको नतिजा आयो । यसपछि विद्यालयले विभिन्न सचेतना कार्यक्रम सञ्चालनका लागि योजना बनायो । विद्यालयले अभिभावक लगायत विद्यार्थी लक्षित विविध कार्यक्रमहरु गर्यो । यस वर्ष विद्यालयबाट ८१ जनाले एसइइमा सहभागी भएका छन् तर विविध कार्यक्रम गरेपछि यस वर्ष करिब ५० प्रतिशत उत्तिर्ण हुने अपेक्षा गरेको विद्यालयका प्रधानाध्यापक बिष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
यस विद्यालयमा हाल कक्षा बालकक्षा (इसिडी) देखि कक्षा १२ सम्म पढाइ हुन्छ । तर शिक्षाको गुणस्तरमा फरकपना ल्याउन खासै केही गरेको थिएन । विद्यालयमा ३१ जना शिक्षकहरु रहेकोमा ५जना शिक्षक विद्यालयले निजी स्रोतबाट राखेको छ । निजी मध्ये २ जना शिक्षकहरु बालकक्षाका लागि रहेका छन् भने बाँँकी कक्षा ८ सम्मलाई पढाउँछन् । विद्यालयका पुराना शिक्षक सबैले अंग्रेजीमा दख्खल नराख्ने भएको कारण थप गरिएको प्रधानाध्यापक श्रेष्ठ बताउनुहुन्छ ।
अभिभावकहरुको आफ्ना बालबच्चाको शिक्षाप्रति कुनै चासो नदेखेपछि विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि अघिल्लो शैक्षिक सत्रमा अभिभावक तथा विद्यार्थीलाई मनोासामाजिक परामर्श कार्यक्रम आयोजना गरेको थियो । विशेषगरी कक्षा १० लाई लक्षित गरी गरिएको कार्यक्रम सो वर्ष ३ पटकसम्म सञ्चालन गरियो । यस्तै अघिल्लो वर्षको एसइइको नतिजाले थलिएको विद्यालयले यस वर्ष राम्रो नतिजा ल्याउन कक्षाका ८७ जनालाई क्षमताको आधारमा सात सात जनाको समूह बनाई १ जना संयोजक शिक्षक खटाइयो । यसका साथै यि समूहहरुलाई सक्रिय तथा प्रभावकारी बनाउन कक्षा शिक्षकको काम, कर्तव्य र अधिकार एवम् कक्षा सञ्चालन कार्यविधि २०८२ निर्धारण गरी विद्यालयले विभिन्न शैक्षिक क्रियाकलापहरु सम्पन्न गरेको प्रधानाध्यापक श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँका अनुसार ति समूहका संयोजकहरुले समूहका सदस्य विद्यार्थीहरुको समस्या पत्ता लगाउने, अभिभावकहरुसँग समन्वय तथा सम्पर्कमा रहने, समूहको विद्यार्थीको व्यक्तिगत समस्या नै पत्ता लगाई छलफल गरी समाधानमा ध्यान दिने, अभिभावकहरुलाई महिनामा एक पटक बिद्यालयमा समन्वय गर्नेपर्ने, लगायतका नियमहरु बनाएर काम गर्न थालियो । यसका लागि शिक्षकहरु बिद्यार्थीको घरमै गई अभिभावकसँग समन्वय गरी काम गर्न थालियो । यतिमात्र नभई ६ कक्षादेखि १० कक्षासम्मको २ महिनासम्म प्रत्येक हप्ता शनिबार चक्रीय परीक्षाहरु सञ्चालन गर्न थालियो ।
यस्तै यस विद्यालयले अघिल्लो शैक्षिक सत्रमा सुरु गरेको अर्को कार्यक्रम विद्यार्थीको ज्ञानको दायरा बढाउने उद्देश्यले कामको संसार कार्यक्रम थियोे । विद्यार्थीलाई आफ्नो वातावरणमा हुने पेशागत तथा उद्यम, सेवा कसरी हुन्छ भन्ने बुझाउने उद्देश्यले गरिएको यो कार्यक्रम अन्तर्गत विद्यालयले आफ्नो वडाभित्रै रहेको पशुसेवा कार्यालय, पदमपोखरी अस्पताल, सहकारी कार्यालय, वडा कार्यालय लगायतको अवलोकन गराइएको थियो । यस्तै हेटौंडा अस्पतालमा डाक्टर तथा नर्सको काम, होटलमा लगी होटल व्यवस्थापनको काम, बिस्कुट उद्योगमा लगेर उद्योगको काम बारे सिकाइ अवलोकन कार्यक्रम समेत गरियो ।
विद्यालयमा केही अघिसम्म पठनपाठनमा ध्यान नदिने तर नतिजा नराम्रो आउँदा शिक्षकहरुलाई गाली गर्न आउने परिपाटी रहेकोमा अघिल्लो वर्षको मनोपरामर्श कार्यक्रमपछि अभिभावकहरुमा परिवर्तन आएको श्रेष्ठको अनुभव छ । यसअघि शिक्षकलाई गाली गर्ने अभिभावकहरु अहिले शिक्षकसँग सल्लाह माग्न थालेका छन् । यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको करिब ३० प्रतिशत विद्यार्थीहरुको आमा–बुबा दुवैजना बैदेशिक रोजगारीमा रहेको पाइएको र १० प्रतिशत विद्यार्थीहरुको अभिभावकहरु छुट्टिएको देखिएको श्रेष्ठको भनाइ छ । अभिभावकको रुपमा विद्यार्थीहरु हजुरबुवा वा हजुरआमासँग रहेको देखिएको उहाँले बताउनुभयो । यि समस्याले गर्दा अभिभावकीय भूमिकामा सुधार आइहाल्न सक्ने स्थित नदेखिए पनि अभिभावकलाई सचेत गराउन विद्यालय लागीपरेको छ ।
अघिल्लो वर्ष सुधारमा ध्यान नदिइएको तर अति आवश्यक लागेको अर्को विषय विद्यार्थीमा भाषागत समस्या छ । माथिल्लो कक्षाका विद्यार्थीलाई नै नेपाली भाषा पढ्न र लेख्न समस्या देखेपछि विद्यालयले यस वर्ष आउँदो जेठ र असारमा २ महिना नेपाली भाषा सिकाउन लागिएको श्रेष्ठले जनाउनुभयो । यस्तो उपचारात्मक विधिले विद्यार्थीको भाषागत सुधार आए अर्को वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने उहाँको योजना छ । साथै लेखाइबाट मात्र सिकाइ हुन सम्भव नहुने भन्दै सुरु गरिएको कामको संसार कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने विद्यालयको योजना छ । अहिले विद्यालय साना कक्षाबाटै शैक्षिक गुणस्तर सुधार गर्ने प्रयासमा रहेको समेत प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो ।
