Home खेलकुद शिक्षक भलिबलको उपाधिका लागि जीएस र शारदा भिड्ने

शिक्षक भलिबलको उपाधिका लागि जीएस र शारदा भिड्ने

फाइलन प्रवेश गरेको शारदा माविका शिक्षकको भलिबल टिम ।

हेटौँडा : छैठौं संस्करणको जिल्लास्तरीय शिक्षक भलिबलको उपाधिका लागि हेटौँडा–५ स्थित जीएस निकेतन र मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालय भिड्ने भएको छ । शनिबार बिहान सम्पन्न सेमीफाइनल खेलमा राक्सिराङ गाउँपालिकाको सूर्योदय माविलाई पराजित गर्दै शारदा मावि फाइनल प्रवेश गरेको हो भने जीएसले पनि राक्सिराङ गाउँपालिकाकै प्रजाजागृति माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको सेमीफाइनल खेलमा शारदाले सूर्योदयलाई पहिलो सेट २५–१७ ले पराजित गरेको थियो । दोस्रो सेट सूर्योदयले २५–१६ ले आफ्नो पक्षमा पारे पनि अन्तिम सेट शारदाले २५–१८ ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो । अर्को सेमीफाइनलमा जीएसले प्रजाजागृतिलाई २५–१० र २५–२१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पाँचौं संस्करणको फाइनलमा पनि जीएस र शारदाबीच नै प्रतिस्पर्धा भएको थियो । पाँचौं संस्करणमा शारदाले उपाधि जितेको थियो । यस पटक भने जीएसलाई बदला लिने अवसर रहनेछ । फाइनल खेल आज शनिबार दिउँसो ४ बजेबाट सुरु हुनेछ । शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापन तथा हेटौँडा–४ नम्बर वडा कार्यालयको आयोजनामा शिक्षक भलिबल प्रतियोगिता भएको हो ।

प्रतियोगिताको विजेता टोलीले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछ । यसैगरी सेमिफाइनमा पराजित हुने टोलीले समान ५–५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्ति विधातर्फ प्रतियोगिताको स्र्वोत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटर समान २–२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

Exit mobile version